नयाँ व्यवस्था अनुसारको शिक्षा ऐन ल्याउन सरकार लागिरहेको छः मन्त्री भण्डारी
बैतडीः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नयाँ व्यवस्था अनुसारको शिक्षा ऐन ल्याउन सरकार लागिरहेको बताएका छन।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन बैतडीको १८औं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्। उनले शिक्षा ऐनमा सबै शिक्षकका मागहरुलाई अधिकतम रुपमा सम्बोधन गर्ने र शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्ने हिसाबले सरकारले ऐन ल्याउन लागेको जानकारी दिए। ‘नयाँ व्यवस्था अनुसार नयाँ शिक्षा ऐन आवश्यक छ। यसका लागि सरकार लागिपरेको छ।
शिक्षा क्षेत्रलाई सुधार गर्ने गरी नयाँ शिक्षा ऐन आउँदैछ’ उनले भने। मन्त्री भण्डारीले नयाँ व्यवस्था अनुसारको शिक्षा ऐन चाडै आउने बताए। यस्तै कार्यक्रममा बोल्दै उनले देशको अर्थतन्त्र सुधारका लागि सबै पक्ष एकभएर अघि बढ्नुपर्ने बताए। अर्थतन्त्रमा सुधार आएमात्रै देशका समस्या समाधान हुने भएकाले सबै क्षेत्र मिलेर जानुपर्ने उनको भनाई थियो।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन बैतडीका अध्यक्ष प्रेमराज भट्टको अध्यक्षतामा भएको अधिवेशनमा मन्त्री भण्डारी प्रमुख अतिथी रहेका थिए।