च्यासल खेल मैदान मर्मत गर्न दुई करोड लाग्ने
ललितपुर: ललितपुर महानगरपालिका–९ च्यासलस्थित मनोहरा खोला किनारमा च्यासल खेल मैदान गत असोजमा बाढीले बगरमा परिणत गरेको छ। खेलकुद क्षेत्रका अधिकारीले यसको मर्मतसम्भारका निम्ति तत्काल दुई करोड आवश्यक हुने बताएका छन्।
च्यासल मैदानलाई पहिलेको अवस्थामा फर्काउन दुई करोड बजेट आवश्यक पर्ने राष्ट्रिय खेलकुद परिषद् पूर्वाधार निर्माण तथा मर्मत शाखाका इन्जिनियर पूर्ण सुनदासले बताए। उनले भने, 'बाढीबाट भएको क्षति र मर्मतको लागतबारे अध्ययन गरी प्रतिवेदन तयार गरेका छौँ।'
च्यासल फुटबल क्लबका अध्यक्ष रमेश व्यञ्जनकार ललितपुर महानगरपालिका–९ वडा कार्यालयको सहयोगमा मैदान व्यवस्थापनको प्रयास भएको बताउँछन्। मैदान मर्मतमा अखिल नेपाल फुटबल संघलगायत सरोकार भएकाहरू मौन रहेकामा उनी दुःखी छन्। खेलकुद परिषद्सँग रु. १० लाख माग गरेका तर हालसम्म निर्णय नभएको उनको कथन छ।
ललितपुर महानगरपालिका–९ का वडाध्यक्ष राजु महर्जन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा मैदान मर्मत गरिनुपर्नेमा जोड दिए। दशरथ रंगशालाको विकल्पका रूपमा परिषद्ले रु. २८ करोड खर्चेर २०७६ सालमा उक्त मैदान तयार गरेको हो।