सुदूर नेपाललाई विश्वसँग जोड्दै

वेदकोट नगर अस्पताल : राजेन्द्र निर्माण सेवाले ४६ महिनासम्म जगसमेत हालेन

२०८१ माघ १९, ०३:४१ कमल सावद

धनगढी : कञ्चनपुरको वेदकोट नगरपालिकामा १५ शय्याको अस्पताल भवन निर्माणको काम अलपत्र परेको छ।

जिल्लाको वेदकोट नगरपालिका–३ प्राथमिक स्वास्थ्य केन्द्र रहेको क्षेत्रमा अस्पताल भवन निर्माणको काम तीन वर्षसम्म अलपत्र परेको हो।

नेपाल सरकारको बजेटमा २ वर्ष भित्र अस्पताल निर्माणका लागि २०७८ वैशाख २२ गते सम्झौता भएको थियो। तर, सम्झौताको ४६ महिना हुँदा पनि अस्पतालको जग्गाको काम पनि पूरा भएको छैन। सम्झौता अनुसार २०८० वैशाखमा अस्पताल भवनको काम पूरा हुनुपर्ने हो। तर, २०८१ को माघ १९ गतेसम्म जग निर्माणको कामसमेत सकिएको छैन। अस्पताल भवन निर्माणका लागि राजेन्द्र निर्माण सेवाले नौ करोड ७४ लाख पाँच हजारमा ठेक्का पाएको हो। वेदकोट नगरपालिकाका नगर प्रमुख भोजबहादुर बोहराले अस्पताल निर्माणमा निर्माण कम्पनीले ढिलासुस्ती गरेको बताए। उनले भने, ‘१५ शय्याको नगर अस्पताल बन्दैछ। निर्माण कम्पनीले ढिलो गर्दै छ। काम ढिलो हुँदैछ। अहिलेसम्म फाउन्डेसनसम्मको काम भएको छ।’

नेपाल सरकारले नगर अस्पताल निर्माणका लागि बजेट विनियोजन गरेको हो। सरकारले उपलब्ध गराउने सेवा सुविधा जनताको घर आँगनमा दिलाउन अस्पतालको भवन निर्माण गर्न ठेक्का सम्झौता गरिएको छ। सामान्य नागरिकले पनि सरकारको सेवा सुविधाको पहुँचमा ल्याउन अस्पतालको भवन निर्माणको काम थालिएको हो। तर, निर्माण कम्पनीको बेवास्ताका कारण वेदकोट नगरपालिकाका नागरिक विशेषज्ञ स्वास्थ्य उपचार सेवाबाट वञ्चित भएका हुन। नगर प्रमुख बोहराले भने, ‘नगर अस्पतालमा ६ जना विशेषज्ञ चिकित्सकको दरबन्दी छ। आधारभूत, प्रयोगशाला, इर्मेजेन्सीलगायतका सेवा सञ्चालन हुनेछन।’ वेदकोट नगरपालिका कञ्चनपुरको केन्द्रमा छ। दैजी–जोगबुढा सडक क्षेत्रमा अस्पताल निर्माण थालिएकाले पहाडी क्षेत्रका नागरिकलेसमेत सेवा पाउने छन्। कञ्चनपुरको बेलौरीदेखि दैजी र पहाडी क्षेत्रका नागरिकले समेत वेदकोट नगर अस्पतालबाट स्वास्थ्य उपचार पाउने छन्।

वेदकोट नगरपालिकाका नागरिक सामान्य उपचारका लागि पनि महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल जानुपर्ने बाध्यता छ। नगर अस्पतालबाट सेवा सुचारु भए उनीहरूलाई पनि सहज हुने छ। नेपाल सरकारले अस्पताल भवन निर्माण गरेर नगरपालिकालाई हस्तान्तरण गर्ने छ। अस्पतालका उपकरण तथा औषधीसमेत नेपाल सरकार र सुदूरपश्चिम सरकारले दिने छ। वेदकोट नगरपालिकाले १५ शय्याको अस्पताल सञ्चालन गर्ने छ। न्यून शुल्कमा नगरपालिकाले अस्पतालबाट सेवन दिनेछ।

 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस