बेमौसमी काँक्रा खेतीतर्फ आकर्षित डडेल्धुरा किसान
जिल्लाका किसान बेमौसमी काँक्रा खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन्। बेमौसममा उत्पादन हुने काँक्राले राम्रो बजार मूल्य पाउन थालपछि यहाँका किसान हर्षित बनेका छन्। चाहेको मूल्य पाउन थालेपछि पछिल्लो समय किसान बेमौसमी काँक्रा खेतीतर्फ आकर्षित बनेका छन्। तराईमा भन्दा यहाँको काँक्रो स्वादिष्ट हुने भएकाले माग बढ्दै गएको छ। बेमौसमी काँक्राबाट तीन महिनाको अवधिमा एक लाखदेखि दुई लाखसम्म आम्दानी हुने गरेको अमरगढी–२ का पार्वतीदेवी बोहराले बताईन। “किसानले कम्तीमा ३० हजारभन्दा बढी आम्दानी गर्दैआएका छन, व्यावसायिक रुपमा काँक्रा लगाउनेको संख्या बढ्दै गएको छ,” उनले भनिन्।
अमरगढी नगरपालिका, भागेश्वर गाउँपालिका, अजयमेरु र पर्शुराम नगरपालिकाको चिस्यान कम हुने क्षेत्रमा किसानले बेमौसमी काँक्रा खेती गर्न थालेका छन् । काँक्रा बिक्री गर्न बजारको समस्या छैन । किसानले प्रतिकिलो काँक्रा २० देखि ३० सम्ममा बिक्री गर्ने गरेका छन्। सरकारी तथा गैरसरकारी संघसंस्थाले आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउन थालेपछि बेमौसमी काँक्रा खेती गर्ने किसानको संख्यामा वृद्धि हुँदै गइरहेको अमरगढी कृषि विकास शाखाका अधिकृत टेकबहादुर बिष्टले बताए।
रासस