सुदूरपश्चिममा प्राकृतिक विपदबाट १६ महिलासहित २७ पुरुषको मृत्यु
चालु आवको ६ महिनामै ६ करोड ५८ लाखको धनमाल नष्ट
धनगढीः सुदूपरपश्चिममा विपदका घटनाबाट १६ महिला र ११ पुरुष गरेर २७ जनाको मृत्यु भएको छ।
प्रदेशभित्र प्राकृतिक विपदबाट वर्षेनि ज्यान गुमाउनेको संख्या बढ्दो क्रममा देखिएको छ। चालु आर्थिक वर्षको पौष मसान्तसम्म पहिरो, चट्याङ, बाढी, जनावर आंतक, आगलागी र सर्पदंशबाट १६ महिलासहित २७ जनाको मृत्यु भएको हो। सो अवधिमा पहिरोमा परेर पाँच महिला र एक पुरुषको मृत्यु भएको छ।
त्यस्तै चट्याङ लागेर तीन पुरुष र २ महिला, बाढीबाट २ पुरुष र एक महिला, जनावर आंतकबाट २ पुरुष र एक महिला, आगलागीबाट एक महिला र सर्पले डसेर एक महिला र एक जना पुरुषको मृत्यु भएको सुदूरपश्चिम प्रदेश आपतकालिन कार्यसञ्चालन केन्द्र धनगढीले संकलन गरेको विवरणमा उल्लेख छ। सुदूरपश्चिममा चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा प्राकृतिक विपदका २ सय ८९ घटना घटेका छन्। ती घटनामा परेर ५८ महिला र ४६ पुरुष गरी एक सय चार जना घाइते भएका छन्।
प्राकृतिक विपदबाट १४ सय ३५ परिवार प्रभावित बन्न पुगेका छन्। आंशिक रुपमा २९ र ३५ घर पूर्ण रुपमा क्षति भएका छन्। विपदबाट २ सय ८ पशुचौपायामा क्षति पुगेको छ। पहिरोबाट ६ लाख २५ हजार, चट्याङबाट १० लाख ५० हजार, आगलागीबाट ६ करोड १९ लाख ११ हजार, हावाहुरीबाट ७ लाख, भारी वर्षाबाट १२ लाख ६० हजार, अन्य २ लाख २५ हजार र जंगल आगलागीबाट ५० हजार मुल्यको धनमाल जलेर नष्ट भएको अनुमान गरिएको छ।