सुदूर नेपाललाई विश्वसँग जोड्दै

व्यापार र पारबाहन सन्धिबारे नेपाल–भारत वाणिज्य सचिवस्तरीय समितिमा छलफल

२०८१ पुष २७, १२:३९ खबर संवाददाता

काठमाडौँ: नेपाल–भारत वाणिज्य सचिवस्तरीय अन्तर–सरकारी समिति (आइजीसी मिटिङ)को पहिलो दिनको बैठकमा व्यापार, पारबाहन सन्धि र अनधिकृत व्यापार नियन्त्रण सम्झौताको बारे छलफल भएको छ।  

शुक्रबार काठमाडौँमा आयोजित उक्त  बैठकमा नेपाली वार्ताटोलीको नेतृत्व वाणिज्य तथा आपूर्ति सचिव गोविन्द वहादुर कार्की र भारतीय वार्ताटोलीको नेतृत्व भारतका वाणिज्य सचिव सुनिल वर्थवालले गरेका थिए। उक्त बैठकमा दुवै पक्षको सहमतिमा तयार भएका व्यापार सन्धि २००९, पारवहन सन्धि, २०२३ र अनधिकृत व्यापार नियन्त्रण सम्झौता २००९ अन्तर्गतका विभिन्न विषयमा वृहत छलफल भएको मन्त्रालयले जनाएको छ।  

बैठकको क्रममा खास गरी नेपाल भारतबिचको वाणिज्य सन्धि पुनरावलोकन गर्ने विषयमा चौथो चरणको वार्ता, पारवहन सन्धिलाई कार्यान्वयनमा ल्याउन नेपालद्वारा प्रेषित लेटर अफ एक्चेन्जलाई छिट्टै निष्कर्षमा पु¥याउने, नेपालमा उत्पादित वस्तुहरू भारतमा निकासी गर्न आवश्यक पर्ने वीआईएस प्रमाणपत्र प्राप्तिको प्रक्रियालाई छिटो छरितो बनाउने विषयमा छलफल भएको थियो। 

यसैगरी भारतीय लगानीमा नेपालमा निर्माण भइरहेका आयोजनाहरूमा आवश्यक पर्ने उपकरण तथा अन्य सामाग्रीको आयातलाई सहजीकरण गर्ने, नेपालमा उत्पादन नहुने पशुजन्य खाद्य पदार्थको भारतबाट हुने आयातलाई सहजीकरण गर्ने, विषयमा समेत छलफल भएको छ। 

त्यस्तै नेपालको गुणस्तर तथा नापतौल विभाग र भारतको ब्युरो अफ इन्डियन स्ट्याण्डर्ड (बिआइएस) तथा नेपालको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र भारतको फूड सेफ्टी एण्ड स्टाण्डर्ड अथोरिटीबीच पारस्परिक सहयोग अभिवृद्धि गरी वस्तुको गुणस्तर निर्धारण तथा परीक्षण, प्रमाणीकरण र पारस्परिक मान्यताको प्रक्रियालाई अगाडि बढाउने, औषधिको आयात निर्यातलाई व्यवस्थित गर्ने, भन्सार प्रक्रियालाई सहजीकरण गर्ने, दुवै पक्षका विषयगत संयन्त्रयहरु मार्फत सम्बन्धित विषयहरू समयमै टुङ्ग्याउँदै जाने लगायतका विषयमा सहमति भएको छ।

त्यसैगरी व्यापार तथा लगानीको हिसाबले महत्त्वपूर्ण साझेदारका रूपमा रहेका नेपाल भारतबिचका विद्यमान संयन्त्रहरूलाई थप क्रियाशील बनाई नियमित रूपमा छलफल तथा बैठक गरी दुवै पक्षको हित प्रवर्धन हुने गरी अगाडि बढ्नुपर्ने कुरा जोड दिइएको जनाएको छ। 

कमेन्ट लोड गर्नुस