सुदूरपश्चिमको खानेपानी समस्या बुझ्न मन्त्री यादव धनगढी आइपुगे
धनगढीः खानेपानीमन्त्री प्रदीप यादवले सबै नागरिकलाई शुद्ध पेयजलको व्यवस्था गर्न सरकार क्रियाशील रहेको बताएका छन्।
सुदूरपश्चिममा देखा परेको खानेपानी समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको उनले बताएका हुन्। सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले गरेको कार्यक्रममा उनले सुदूरपश्चिमवासीका खानेपानीसम्बन्धी समस्याबारे जानकारी लिन आफू कैलाली आएको बताए। उनले ‘एक घर एक धारा’को अवधारणालाई साकार पार्न आफू प्रतिबद्ध रहेको बताए।
पछिल्लो समय चुरे दोहन तथा जलवायु परिवर्तनका कारण पानीका मुहान सुक्दै गएकोमा उनले चिन्ता व्यक्त गरेका छन्। चुरे दोहन गर्नेलाई कडा कारबाही गर्न जरुरी भएको उनको भनाई छ। कार्यक्रममा मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्य, सहसचिव रामबाबु पुरी, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठलगायत सहभागी थिए।