गाँठेकीराले कोदोबाली नष्ट गर्दा किसान चिन्तित
हुम्लामा गाँठेकिराले कोदोबाली नष्ट गरेको छ। जिल्लाको दक्षिणी क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–३ मा गाँठेकीरा रोगले कोदोबाली नष्ट गरेको छ। वडा नम्बर ३ मा रहेको गुसालेकमा गत चैतमा लगाएको कोदोबाली रोगले नष्ट गर्दा स्थानीयवासी चिन्तित छन्। गत चैतमा कृषकले खेतबारीमा छरेको कोदोबाली कात्तिकमा उत्पादन हुने भए पनि गाँठेकीराले बाली नष्ट गर्दा त्यहाँका कृषकलाई समस्या बनाएको छ।
पहाडी क्षेत्रमा उत्पादन हुने कोदोबालीमा रोग फैलिँदा उम्रिदै गरेको बाली कीराले नष्ट गरेपछि कृषकले बारीमा कोदो फेरि छरेका छन्। रोगको प्रकोपका कारण किसानले कीटनाशक औषधि प्रयोगका लागि कृषि ज्ञान केन्द्र हुम्लामा जानकारी गराए पनि कुनै सुनुवाइ नभएको कृषक जीवन फडेराले जानकारी दिए।
गाँठेकीराले कोदोबाली नष्ट गरेपछि पुनः उत्पादन गर्न खेतमा कोदो छर्दा कहिले उम्रेर कहिले फल लाग्ने भन्नेमा कृषक चिन्तामा परेका छन्। कोदो राम्रोसँग सर्न नपाउँदै पानी पर्न बन्द भएकाले पनि कोदोको बोटमा रोग लागेको हुनसक्ने कृषकले बताउँदै आएका छन्।
शुरुदेखि नै कोदोमा गाँठेकीरा, ग्वारोकीरा र खुम्लेकीराले सताउनुका साथै गोड्ने समयदेखि कोदोमा ढुसी, जरा कुहिने र फट्याङ्ग्राको प्रकोप अत्यधिक रहेको कृषकको भनाइ छ। आधुनिक खेती प्रणालीमा जान नसक्दा र व्यावसायिक खेती गर्न नसकेर कृषकले परम्परागत खेती गर्दा यस्तो समस्या निम्तिएको हो।
कोदोबालीमा रोग लागेर नष्ट भएपछि किसान भने कात्तिकमा के खाने भन्नेमा चिन्तित देखिएका छन्। ६ महीनाको खेतीपाती छ महीनासम्म पु¥याउनुपर्ने जिल्लाका कृषकलाई यो वर्ष रोगले समस्या हुने भएको छ। यस्तै जिल्लाको सिमकोट गाउँपालिका–२ मा पनि कात्तिकमा उत्पादन हुने कोदोमा रोग देखापरेको स्थानीय किसानले बताएका छन्। रासस