भीम रावल एमालेभित्रै निष्क्रिय! साधारण सदस्यबाहेक कतै अटाएनन्
धनगढीः गत कार्तिकमा नेकपा एमालेले नेता भीम रावललाई स्पष्टीकरण सोध्यो। त्यसपछि उनको गृहजिल्ला अछाममा एमालेको निर्णयविरुद्ध विरोध प्रदर्शन नै गरियो।
एमालेका नेता तथा कार्यकर्ताहरूले रावलको बचाउ गर्दै विरोध प्रदर्शन गरेका थिए। त्यतिबेला एमाले सचिवालय बैठकले नेता रावल पार्टीको नीतिविरुद्ध गएको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। रावलका साथै सचिवलय बैठकले स्थायी समिति सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनालाई पनि स्पष्टीकरण सोधेको थियो।
भाटभटेनीका मालिकले एमालेलाई पार्टी कार्यालय निर्माणका लागि अर्ब पर्ने जग्गा दिन गरेको विषयमा नेता रावलले पनि आपत्ति जनाएका थिए। त्यसपछि एमालेले सचिवालय बैठकबाटै स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। उसो त एमालेको १० औं महाधिवेशनमा केपी शर्मा ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका रावल अहिले एमालेमा निष्क्रिय जस्तै छन्।
पार्टीको साधारण सदस्यबाहेक अन्य कतै अटाएका छैनन्। एमालेले धलेकेर डिलमा पु¥याइसकेका रावल भने अझै पार्टी नछाड्ने अड्डी कसेर बसेका छन्। नेता रावल पछिल्लो समय एकीकृत समाजवादीमा जाने चर्चा पनि चलेको छ। तर रावलले भने यसमा कुनै सत्यता नभएको बताउँदै आएका छन्। उनले एकीकृत समाजवादीमा जाँदैछ भनेर चलाएको हल्लामा कुनै सत्यता नभएको दाबी गरेपनि एमालेभित्र भने उनी कुनै जिम्मेवारीमा छैनन।
यद्यपी नेता रावलले महाधिवेशनअघि नेकपा एसका नेताहरुसँग राजनीतिक र वैचारिक विषयमा भने कुराकानी गरेका छन्। गत असोजमा मात्रै नेता रावललाई भ्रम नफैलाउन नेकपा एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षले चेतावनी नै दिएका थिए। नेकपा एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णप्रसाद जैसीले नेता रावललाई तल्लो तहमा भ्रम नफैलाउन चेतावनी दिएका थिए।
एक विज्ञप्ति नै जारी गरेर अध्यक्ष जैसीले निवर्तमान उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री रावलले लेनिनवादी सङ्गठनात्मक सिद्धान्तसँग मेल नखाने गरी अनावश्यक रूपमा सामाजिक सञ्जालमा अन्तर्विरोध चर्काउने गरी लेखिएको विषयप्रति पार्टी प्रदेश कमिटीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका थिए।
जारी विज्ञप्तिमा भनिएको थियो, ‘पार्टी केन्द्रीय अध्यक्षसँग एक पटक संवाद भइसकेपछि निरन्तरता दिनुपर्नेमा बोलाएपछि मात्र जान्छु भन्ने र अन्य नेतृत्वसँग आफ्नो व्यक्तिगत केही छैन भनिसकेपछि सामाजिक सञ्जालमा लेखिरहने प्रवृत्ति पार्टीको लागि घातक हुने भएकाले केन्द्रीय अध्यक्षसँगै वार्ता अगाडि बढाउन तथा तल्ला कमिटी तथा पार्टीका कार्यकर्ता र शुभेच्छुकको बीचमा भ्रम नछर्न चेतावनी दिन चाहन्छु।’
‘पार्टी तथा विभिन्न मोर्चामा पाँच दशक लामो यात्रा गर्नुहुने र पार्टी तथा सरकारको उच्च ओहोदामा काम गर्ने अवसर र अनुभव प्राप्त व्यक्तिले पार्टी र आन्दोलनको पक्षमा मात्रै वकालत गर्न आन्दोलन गर्दै यस्तै गतिविधि बढ्दै गए तपाईंप्रतिको कार्यकर्ताको विश्वास झन् झन् टुट्दै जाने विषयको समेत ध्यानाकर्षण गराउन चाहन्छु,’ अध्यक्ष जैसीले जारी गरेको विज्ञप्तिमा भनिएको थियो।