धनगढीका मेयर हमालको स्वास्थ्यमा क्रमिक सुधार
धनगढीः धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल भारतको दिल्लीमा उपचारपछि घर फर्किएका छन्।
दिल्लीस्थित म्याक्स सुपरस्पेसियालिटी हस्पिटलमा १६ दिन उपचार भएपछि हमाल धनगढीस्थित घरमा फर्किएका हुन्। ‘अहिले म घरमै आराम गरिरहेको छु,’ मेयर हमालले भने, ‘फिजिसियन डाक्टर विकास रिजाल र अहेब दिनेश ठकुल्लाले बिहान र बेलुका आएर स्वास्थ्य जाँच गरिरहनुभएको छ।’ मेयर हमालका अनुसार अहिले स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ।
‘बिहान भेट्न आउने साथीहरूको सहारा लिएर हिँड्छु,’ उनले भने, ‘दिउँसो औषध खाएर आराम गर्छु। ३ बजेपछि फिजियो थेरापी गर्ने गरेको छु।’ मेयर हमाललाई स्वास्थ्य समस्या देखिएपछि मंसिर २१ गते माया मेट्रो अस्पताल धनगढीमा भर्ना गरिएको थियो। हमाललाई थप उपचारका लागि २२ गते दिल्ली लगिएको थियो। दिल्लीमा हमालको आईसीयूमा राखेर उपचार गरिएको थियो।