सुदूर नेपाललाई विश्वसँग जोड्दै

साढे ६८ हजार हेक्टरमा गरिएको धानखेतीबाट ३ लाख मेट्रिकटन उत्पादन

२०८१ पुष ९, ०९:५० खबर संवाददाता

कैलालीः कैलालीमा गत वर्षभन्दा धान उत्पादनमा यस वर्ष वृद्धि भएको छ। यस वर्ष जिल्लामा तीन लाख २४ हजार ८८४ मेट्रिकटन बर्खे धान उत्पादन भएको छ।

कृषि ज्ञान केन्द्र कैलालीका अनुसार गत वर्षको तुलनामा यस वर्ष बर्खे धान उत्पादनमा वृद्धि भएको हो। यस वर्ष ६८ हजार ५४१ हेक्टर क्षेत्रफलमा बर्खे धानखेती गरिएकामा चार दशमलव ७४ मेट्रिकटन प्रतिहेक्टर धान उत्पादन भएको कृषि ज्ञान केन्द्र कैलालीका सूचना अधिकारी शंकरदत्त अवस्थीले बताए।

उनका अनुसार गत वर्षको तुलनामा यस वर्ष शून्य दशमलव दुई प्रतिशतले बर्खे धान उत्पादनमा वृद्धि भएको छ। गत वर्ष पनि सोही क्षेत्रफलमा धानखेती गरिएकामा तीन लाख २३ हजार २८० मेट्रिकटन धान उत्पादन भएको उनले बताए। उनले भने, ‘गत वर्ष र यस वर्ष बराबरी क्षेत्रफलमा बर्खे धानखेती गरिएको थियो, उत्पादन बढ्न सकेन, झिनो मात्रामा बढेको छ।’ गत वर्ष धानको उत्पादकत्व चार दशमलव ७२ मेट्रिकटन प्रतिहेक्टर रहेको उनले बताए।

यस्तै जिल्लामा यस वर्ष ६ हजार ४६१ हेक्टर क्षेत्रफलमा मकैखेती गरिएकामा १५ हजार १९२ मेट्रिकटन उत्पादन भएको छ। सूचना अधिकारी अवस्थीका अनुसार जिल्लामा एक सय तीन हेक्टर क्षेत्रफलमा कोदोखेती गरिएकामा १२७ मेट्रिकटन उत्पादन भएको छ। ज्ञान केन्द्रले उत्पादन बढाउन किसानलाई ५० प्रतिशत अनुदानमा मेसिनरी औजार, बीउबिजनलगायत उपलब्ध गराउँदै आएको छ। त्यस्तै किसानलाई तालिमसमेत दिने गरिएको सूचना अधिकारी अवस्थीले बताए।
 

कमेन्ट लोड गर्नुस