वार्षिक २५ करोडको कारोबार गर्ने डीडीसी धनगढीको घाटा एक करोड
वीरेन्द्र भट्ट, धनगढीः सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले विश्वासका आधारमा फर्म तथा कम्पनीलाई आफ्ना उत्पादन उधारोमा समेत दिने गरेको छ।
नियमित कारोबार गरिरहेका आधारमा उनीहरूले यस्तो उधारो पाउने गरेका छन्। तर बिचमा केही फर्म तथा कम्पनी सम्पर्कविहीन बनिदिँदा समस्या हुने गरेको छ। धनगढी दुग्ध वितरण आयोजना अन्तर्गत ६ लाख ४१ हजार पाँच सय बक्यौता रकम उठ्न बाँक छ। साथै सो आयोजना अहिले पनि घाटामा सञ्चालन हुँदै आएको छ।
कारोबार गरिरहेका कम्पनीले कारोबार गर्न छोड्नु र पैसा उठाउन बाँकी हुनुलाई दुग्ध विकास आयोजनाले सामान्य रुपमा लिने गरेको छ। धनगढी दुग्ध वितरण आयोजना अन्तर्गत ठूलो रकम बक्यौताको रुपमा देखा परेको छ। यस विषयमा महालेखापरीक्षकको कार्यालयले पनि पटक–पटक प्रश्न उठाउँदै आएको छ।
धनगढी दुग्ध वितरण आयोजनाले वार्षिक २० देखि २५ करोडको कारोबार गर्दै आएको आयोजना प्रमुख निराजन भट्टराईले बताए। तर आयोजना स्थापनाकालदेखि नै कारखाना घाटामा छ। वार्षिक करोडको हाराहारीमा घाटा हुने गरेको उनले बताए। धनगढी दुग्ध वितरण आयोजनामा कारोबारमा नरहेका फर्म–कम्पनीहरूको आसामी ६ लाख ४१ हजार पाँच सय छ। आसामी रकमका विषयमा पनि महालेखापरीक्षकको कार्यालयले प्रश्न गरेको छ।
कैलाली, कञ्चनपुर र डडेल्धुरा धनगढी दुग्ध वितरण आयोजना कार्यालयका लागि संकलन केन्द्र हुन। धनगढी, अत्तरिया, डडेल्धुरा र डोटीको दिपायलमा दुग्धजन्य पदार्थ विक्री हुने गरेको छ। निकट भविष्यमै कञ्चनपुरको महेन्द्रनगर बजारमा पनि विक्री केन्द्र खोल्ने तयारी भइरहेको छ। टीकापुरमा पनि विक्री केन्द्र खोल्ने योजना बनाइएको छ। अहिले ४ देखि ५ हजार लिटर दुध दैनिक रुपमा संकलन हुने गरेको छ।
एक हजारदेखि एक हजार पाँच सय लिटर दुध मात्र स्थानीय बजारमा खपत हुने गरेको छ। बाँकी दुध हेटौडा दुग्ध वितरण आयोजनाको कारखानामा पठाइने गरेको आयोजना प्रमुख भट्टराईले बताए। धनगढी दुग्ध वितरण आयोजनाले हरेक महिना एक करोड ५० लाख रुपैयाँ दुध उत्पादक किसानलाई भुक्तानी गर्दै आएको छ।
किसान र सहकारीबाट आयोजनाले दुध संकलन गर्दै आएको छ। सहकारी र भैंसी फार्मबाट गरी ५९ समुहबाट आयोजना कार्यालयले दैनिक रुपमा दुध संकलन गर्दै आएको छ। यति हुँदाहुँदै पनि आयोजना नाफाभन्दा घाटामा चल्दै आएको छ। वार्षिक एक करोड घाटा हुने गरेको छ। चालु आर्थिक वर्षदेखि भने घाटा न्युनिकरण गर्ने गरी काम भइरहेको आयोजना कार्यालयको दाबी छ।