सुदूरपश्चिममा ३७ करोड ५९ लाख युनिट विद्युत खपत, कति पुग्यो ग्राहक संख्या?
वीरेन्द्र भट्ट, धनगढीः सुदूरपश्चिममा विद्युत खपत बढेको छ। नेपाल विद्युत प्राधिकरणले १२ वटा विद्युत वितरण केन्द्रबाट दैनिक रुपमा विद्युत प्रवाह गर्दै आएको छ।
कैलालीमा तीन र कञ्चनपुरमा २ वटा विद्युत वितरण केन्द्र छन्। बाँकी ७ पहाडी जिल्लामा एक/एकवटा विद्युत वितरण केन्द्रबाट विद्युत वितरण गर्ने काम भइरहेको छ। विद्युत प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख जंगबहादुर चन्दका अनुसार यहाँ सरकारी स्वामित्वको ३० मेगावाटको चमेलिया जलविद्युत र एक सय ३५ मेगावाट निजी क्षेत्रबाट गरेर हाल एक सय ६५ मेगावाट विद्युत उत्पादन हुँदै आएको छ।
विद्युत प्राधिकरण अन्तर्गत सुदूरपश्चिममा हाल तीन लाख ७२ हजार १२ ग्राहक संख्या पुगेको छ। आर्थिक वर्ष २०८०/८१ मा सुदूरपश्चिममा ३७ करोड ५९ लाख ११ हजार युनिट विद्युत खपत भएको प्राधिकरणका सुदूरपश्चिम प्रादेशिक प्रमुख चन्दले जानकारी गराए। अहिले प्रदेशका नौवटै जिल्लामा गरी ८६ दशमलव ५८ प्रतिशत घरधुरीको विद्युतीकरण भइसकेको छ।
बाँकी २ वर्षभित्रै गर्ने गरी काम भइरहेको छ। सुदूरपश्चिममा विद्युत प्राधिकरणका चार सय ९६ ग्राहक सहकारी छन्। ती सहकारीमार्फत ठूलो संख्यामा विद्युत वितरण गरिएको छ। गैरग्राहस्थ एक सय, कमर्सियल २ हजार २४९, नन कमर्सियल चार हजार २०, औद्योगिक तीन हजार ५७४, स्ट्रीटलाइट १२०, सिँचाई १५ हजार ३६८, वाटर सप्लाई १९७, धार्मीक १६१, आन्तरिक खपत ६४, अस्थायी ८२ र ट्रान्सपोर्टेशन १७ ग्राहक रहेको चन्दले बताए।
सुदूरपश्चिममा कुनै घरधुरी नछुट्ने गरी विद्युतीकरणको काम भइरहेको छ। सबैभन्दा बढी कञ्चनपुरमा ९९ दशमलव ९८ प्रतिशत विद्युतीकरणको काम पुरा भइसकेको छ। कञ्चनपुरपछि सबैभन्दा बढी कैलालीमा विद्युतीकरण गरिएको छ। कैलालीमा पनि ९९ दशमलव १२ प्रतिशत घरधुरीको विद्युतीकरण भइसकेको छ।
अहिलेसम्म पहाडी जिल्ला डडेल्धुरामा ९१ दशमलव शून्य ३ प्रतिशत, बैतडीमा ५७ दशमलव ६ प्रतिशत, डोटीमा ८० दशमलव ४५ प्रतिशत घरधुरीको विद्युतीकरण भइसकेको चन्दले बताए। यस्तै अछाममा ६४ दशमलव ४६ प्रतिशत, दार्चुलामा ८९ दशमलव ६४ प्रतिशत, बझाङमा ६६ दशमलव ७४ प्रतिशत र बाजुरामा २९ दशमलव २४ प्रतिशत घरधुरीको विद्युतीकरण भइसकेको छ।