सुदूरपश्चिममा ८६.५८ प्रतिशत घरधुरीमा विद्युतीकरणको काम पुरा
धनगढीः सुदूरपश्चिम प्रदेशमा ८६ दशमलव ५८ प्रतिशत घरधुरीमा विद्युतीकरण गर्ने काम पुरा भएको छ। नेपाल विद्युत प्राधिकरणले विद्युतीकरणको कामलाई तीव्रता दिएको छ।
प्राधिकरणले विद्युतीकरणको कामलाई पहिलो प्राथमिकतामा राखेर आगामी २ वर्षभित्रै सतप्रतिशत काम पुरा गर्ने गरी फिल्डमा काम भइरहेको बताएको छ। कैलाली र कञ्चनपुरमा करिब ९९ प्रतिशत घरधुरीको विद्युतीकरण भइसकेको छ भने पहाडी जिल्लामा पनि तीव्रगतिमा काम भइरहेको प्राधिकरणको दाबी छ।
प्रदेशभित्र हाल एक सय ६५ मेगावाट विद्युत उत्पादन हुँदै आएको छ। सरकारीस्तरबाट ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजना र बाँकी एक सय ३५ मेगावाट निजी क्षेत्रले लगानी गरेको जलविद्युत आयोजनाबाट विद्युत उत्पादन भइरहेको छ। प्रदेशभित्र विद्युत उत्पादन बढेसँगै नेपाल विद्युत प्राधिकरणले विद्युतीकरण गर्ने काममा तीव्रता दिएको छ।
कैलाली र कञ्चनपुरसँगै पहाडी जिल्लामा यतिबेला धमाधम विद्युतीकरणको काम भइरहेको नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख जंगबहादुर चन्दले बताए। सबैभन्दा बढी कञ्चनपुरमा विद्युतीकरण भएको छ। कञ्चनपुरमा ९९ दशमलव ९८ प्रतिशत विद्युतीकरणको काम पुरा भइसकेको छ। कञ्चनपुरपछि सबैभन्दा बढी कैलालीमा विद्युतीकरण गरिएको छ।
कैलालीमा पनि ९९ दशमलव १२ प्रतिशत घरधुरीको विद्युतीकरण भइसकेको प्राधिकरणको दाबी छ। तराईका २ जिल्लासँगै पहाडी ७ जिल्लामा आगामी २ वर्षभित्रै सम्पूर्ण घरधुरीमा विद्युतीकरण भइसक्ने गरी काम भइरहेको छ। कुनै पनि घरधुरी नछुटाउने गरी विद्युतीकरणको काम भइरहेको प्रमुख चन्दले बताए।
अहिलेसम्म डडेल्धुरामा ९१ दशमलव शून्य ३ प्रतिशत, बैतडीमा ५७ दशमलव ६ प्रतिशत, डोटीमा ८० दशमलव ४५ प्रतिशत घरधुरीको विद्युतीकरण भइसकेको चन्दले बताए। यस्तै अछाममा ६४ दशमलव ४६ प्रतिशत, दार्चुलामा ८९ दशमलव ६४ प्रतिशत, बझाङमा ६६ दशमलव ७४ प्रतिशत र बाजुरामा २९ दशमलव २४ प्रतिशत घरधुरीको विद्युतीकरणमा भइसकेको छ। बाँकी काम आगामी २ वर्षभित्रै सम्पन्न हुने गरी भइरहेको छ।