भोलि रविविरुद्धको अनुसन्धान प्रतिवेदन पेस गरिँदै
काठमाडौंः सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने कार्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन्। प्रहरीले उनीविरुद्ध सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराध सम्बन्धी कसुरमा अनुसन्धान प्रतिवेदन तयार गरिरहेको छ।
सोमवार उनीविरुद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरिने छ। अनुसन्धान प्रतिवेदन तयार गर्ने काम भइरहेको कास्कीका एसपी श्यामबावु ओलियाले बताए। उनले भने, ‘मुद्दाको टिमले प्रतिवेदनमा काम गरिरहेको छ।’ उनीविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरण, सहकारी ठगी तथा किर्ते र संगठित अपराध गरेको कसुरमा मुद्दा दायर गर्न सरकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाउँदै छ।
उनीविरुद्ध सम्बद्ध कसुरको सम्पत्ति शुद्धीकरण मुद्दा दायर हुनेछ। संसदीय विशेष छानबिन समितिले सूर्यदर्शन सहकारीको रकम गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको निष्कर्ष निकालेको छ। अपचलनमा संलग्न आरोपमा लामिछाने, पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई, रामबहादुर खनाल र कृष्ण गुरुङ पक्राउ परेका हुन्।