शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छः मुख्यमन्त्री शाह
कैलालीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले शिक्षामा समयानुकूल परिमार्जन आवश्यक रहेको बताएका छन्।
कैलालीको टीकापुरस्थिति वीरेन्द्र विद्यामन्दिर सार्वजनिक शैक्षिक गुठीको स्वर्णस्तम्भ शिलान्यास कार्यक्रममा उनले बदलिँदो समयअनुसार शैक्षिक रूपान्तरण जरूरी रहेको बताएका छन्। उनले शैक्षिक क्षेत्रको विकासमा भूमिका खेल्नुभएका स्वर्गीय खड्गबहादुर सिंहलाई बिर्सन नमिल्ने भन्दै राम्रा कामहरूबाट आफ्नो क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्रास्ट्रिय रूपमा चिनाउन प्रयत्न गरिरहनुपर्ने बताएका छन्।
मुख्यमन्त्री शाहले टीकापुर प्राविधिक विश्वविद्यालय स्थापनाका लागि प्रदेश सरकारले काम अगाडि बढाएको दाबी समेत गरेका छन्। वीरेन्द्र विद्यामन्दिर सार्वजनिक शैक्षिक गुठीले आफ्नो स्थापनाको ५० औँ वर्षका अवसरमा आगामी फागुन ९ देखि ११ गतेसम्म स्वर्ण महोत्सव आयोजना गर्दैछ।