सडक किनार धनगढीमा उपमहानगरले पार्किङ्गस्थल निर्माण गर्दै
धनगढीः सुदूरपश्चिम प्रदेशको प्रमुख व्यापारिक सहर कैलालीको धनगढीमा पार्किङ्ग स्थलको अभाव छ।
धनगढी उपमहानगरपालिकाको नेतृत्वले बजार क्षेत्रमा जग्गाको अभाव रहेकाले पार्किङ्ग स्थल र शौचालय निर्माण गर्न नसकेको दाबी गर्दै आएको थियो। तर, उपमहानगरपालिकाको नेतृत्वमा गोपाल हमालसहितको टिम आएपछि प्रसस्त पार्किङ्ग स्थलहरु तयार हुँदैछन्। यसका लागि उपमहानगरपालिकाले सरकारी कार्यालयहरुलाई सडकको क्षेत्राधिकार खाली गर्न उर्दी नै जारी गरेको छ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसहितका सरकारी कार्यालयहरुले सडकको क्षेत्राधिकार खाली गरेपछि उपमहानगरपालिकाले व्यवस्थित पार्किङ्ग स्थल बनाउने भएको छ। उपमहानगरपालिकाका डिभिजनल इन्जिनियर दीजराज भट्टले पार्किङ्ग स्थलहरुको काम जारी हरेको बताए। उनले भने, ‘हामीले सडकको क्षेत्राधिकार खाली गरेका छौ। केही कार्यालयहरुले अझै खाली गरेका छैनन। खाली भएको क्षेत्रमा पार्किङ्ग स्थलहरु निर्माण थालेका छौ।’
धनगढीस्थित मुख्य बजार क्षेत्रमा पार्किङ्ग स्थल विस्तार गरिँदैछ। मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयदेखि सबै सरकारी कार्यालयलाई सडकको क्षेत्राधिकार खाली गर्न उर्दी नै जारी गरिएको छ। सरकारी कार्यालयहरुले सडकको क्षेत्राधिकार खाली गरेपछि उपमहानगरपालिकाले शौचालय, खानेपानी, हरियालीसहितको पार्किङ्ग स्थल निर्माण गर्नेछ।
उपमहानगरपालिकाले उर्दी जारी गरेपछि मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, प्रदेश प्रहरी, कृषि विकास बैँक, सहरी विकास, जिल्ला प्रशासन, जिल्ला प्रहरी, डिभिजन वन कार्यालय, भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, साल्ट्र टे«डिङ्ग, नेपाल विद्युत प्राधिकरणको धनगढी वितरण केन्द्र, जनक शिक्षा सामाग्रीको प्रादेशिक कार्यालय, नेपाल आयल निगमको प्रादेशिक कार्यालय, वाणिज्य बैँकको प्रादेशिक कार्यालय लगायतले सडकको क्षेत्राधिकार खाली गरेका छन्।
सोही ठाउँहरुमा उपमहानगरपालिकाले पार्किङ्ग स्थल र शौचालयहरु निर्माण गर्दैछ। भट्टले भने, ‘हरियालीसहितको पार्किङ्ग बनाउदै छौँ। वृक्षारोपणसमेत गरेका छौँ। शौचायलहरु पनि निर्माण गर्दैछौँ।’ मोहनापुल–अत्तरिया ६ लेन सडक र धनगढीको मुख्य सडक क्षेत्रका सरकारी कार्यालयहरुलाई सडकको क्षेत्राधिकार खाली गर्न भनिएको छ।
उपमहानगरपालिकाले हरियालीसहितको स्तरीय पार्किङ्ग स्थलहरु निर्माणको काम थालेको छ। उपमहानगरपालिकाले खुलामञ्च क्षेत्रमासमेत पार्किङ्ग स्थल निर्माण गर्दैछ। उपमहानगरपालिकाले बजार क्षेत्रका सडक किनारामा निर्माण गरेको पार्किङ्ग स्थलहरुमा निःशुल्क पार्किङ्गको सुविधा दिनेछ। उपमहानगरपालिकाले मुख्य सडक किनारामा टायल, हरियालीसहितको स्तरीय पार्किङ्ग स्थल निर्माणको काम थालेको छ।