संविधान संशोधन आवश्यक छः पूर्वप्रधानमन्त्री भट्टराई
काठमाडौँः पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले मुलुकमा राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली आवश्यक रहेको बताएका छन्। उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिसँगै प्रतिनिधिसभा र प्रदेशसभालाई पूर्णसमानुपाति गर्नुपर्ने धारणा राखेका छन्।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष भट्टराईले भने, “राष्ट्रपति र मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित रहने, प्रतिनिधिसभा र प्रदेशसभा नीति निर्माण गर्ने तथा मन्त्रिमण्डल समावेशी र विषयविज्ञका आधारबाट सभाबाहिरबाट ल्याउने गरी संविधान सशोधन गरिनुपर्छ।”
यस्तो प्रणालीले राजनीति स्थायित्व, विविधता र समावेशीका मुद्दा सम्बोधन गर्न सक्ने बताउँदै उनले संविधान संशोधन गर्ने विषयलाई पनि व्यापक बहस चलाउँदै खास–खास मुद्दामा जनमतसमेत गर्न सकिने बताए।