सुदूर नेपाललाई विश्वसँग जोड्दै

आर्थिक बर्षका २१ दिन बाँकीः सुदूरपश्चिममा ११ छात्रवास निर्माणका लागि ठेक्का

२०७६ असार १०, ०६:४० नवराज पनेरु

सुदूरपश्चिमका ९ वटा जिल्लामा ११ वटा छात्रवास निर्माणका लागि आर्थिक बर्षको अन्त्यमा ठेक्का भएको छ। प्रदेश सरकारको ११ करोड बजेटमा ११ वटा छात्रवास निर्माणका लागि आह्वान गरिएको बोलपत्र आर्थिक बर्ष सकिन २१ दिन मात्रै रहेको बेला आज खोलिएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले अख्तियारीमा ढिलाई गरेपछि शिक्षा विकास निर्देशनालय दीपायलले जेठ मध्येबाट मात्रै ठेक्का प्रक्रिया अगाडी बढाएको थियो। निर्देशनालयका निर्देशक दुर्गादत्त विष्टका अनुसार ठेक्का प्रक्रिया नै जेठ महिनाबाट सुरु भएकाले अव केही दिनमै ठेक्का सम्झौता हुने छ। ‘निर्माण अवधी एक बर्षको राखिएकाले आर्थिक बर्षको अन्त्यमा आएर पनि ठेक्का गरिएको हो,’ उनले भने, ‘चालु बर्षको मात्रै योजना भएको भए अहिले आएर ठेक्का प्रक्रियामा जान सकिने अवस्था थिएन्।’

समयमा छात्रवास निर्माणका लागि ठेक्का सम्झौता भएको भए चालु बर्षमै योजना सम्पन्न हुने देखिएपनि आर्थिक बर्षको अन्त्यमा ठेक्का सम्झौताको तयारी भएपछि छात्रवास निर्माण पछाडी धकेलिएको हो। चालु बर्षमा ठेक्का सम्झौता बाहेकको कुनै काम नहुने भएकाले ११ करोड बजेट पनि फिर्ता जाने देखिएको छ। सामुदायिक प्राविधिक धारका विद्यालयमा प्रदेश सरकारले ११ करोड बजेटमा छात्रवास निर्माणको योजना चालु बर्षकै रातो कितावमा राखेको थियो। अछाम र कैलाली जिल्लामा २÷२ वटा छात्रवास निर्माणको योजना रहेको छ भने अन्य ७ जिल्लामा एउटा मात्रै छात्रवास निर्माणका लागि सम्झौताको तयारी भईरहेको छ। अछामको मंगला नेपाल राष्ट्रिय मावि वलीगाउँ मंगलसेन, जनकल्याण मावि साफे तथा कैलालीमा मोहन्याल मावि गौरीगंगा र कालिका मावि राजीपुरमा छात्रवास निर्माण हुने छ। 

यस्तै राष्ट्रिय मावि पिपलाडी कञ्चनपुर, बालकल्याण मावि पुईलेक अजयमेरु डडेल्धुरा, घण्टेश्वर मावि जोरायल डोटी, लटिनाथ मावि लेकम दार्चुला, थलरा मावि बझाङ , भानोदय मावि वुढिगंगा बाजुरा र मणिलेक मावि मेलौली बैतडीमा छात्रवास निर्माण हुने सामाजिक विकास मन्त्रालयले जनाएको छ। 
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस