भारतमा सेनाको गोली लागेर सात माओवादी विद्रोहीको मृत्यु
एजेन्सीः भारतीय सेनाले बिहीबार सात जना माओवादी विद्रोहीलाई गोली हानेर मारेको छ। सेनाले छत्तीसगढ राज्यको बस्तर क्षेत्रको दुर्गम जंगलमा भएको झडपमा उनीहरूको मृत्यु भएको जनाएको छ।
लामो समयदेखि जारी सशस्त्र द्वन्द्वलाई दबाउन सुरक्षा बलले प्रयास तीव्र पारेपछि पछिल्ला केही महिनामा भारतमा नक्सलवादी आन्दोलनका नामले चिनिने माओवादी विद्रोहीले व्यापक क्षति बेहोर्नुपरेको छ। दशकौं लामो नक्सलवादी आन्दोलनका क्रममा १० हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ।
नक्सलवादी समूहका अनुसार भारतको संसाधन–समृद्ध मध्य क्षेत्रका सीमान्तकृत आदिवासीहरूको अधिकारका लागि लडिरहेका छन्। हालैका वर्षहरूमा विद्रोह निकै खुम्चिएको छ र सुरक्षा बलको कारबाहीमा यस वर्ष २०० भन्दा बढी विद्रोही मारिएको सरकारी तथ्यांकले देखाएको छ।
प्रहरी महानिरीक्षक पी सुन्दरराजले भने, ‘अहिलेसम्म नक्सलबादी समूहको पोशाकमा रहेका सात जनाको शव फेला परेको छ। झडपमा थप व्यक्तिको पनि मृत्यु भएको अनुमान गरिएको छ। तर अन्य व्यक्तिको शव भेटिएको छैन्।’ भारतीय गृहमन्त्री अमित शाहले गत सेप्टेम्बरमा माओवादी विद्रोहीहरूलाई आत्मसमर्पण गर्न वा ‘चौतर्फी’ आक्रमणको सामना गर्न चेतावनी दिँदै सरकारले सन् २०२६ को सुरुसम्म विद्रोह अन्त्य गर्ने अपेक्षा गरेको बताएका थिए।