त्रिविका नियुक्तिमा मेरिट मिचे संघर्ष गर्ने स्ववियु सभापति ओझाको चेतावनी
काठमाडौँः त्रिभुवन विश्वविद्यालयमा डिन, निर्देशकलगायतका पदाधिकारी मेरिट मिचेर नियुक्ति गरे संघर्ष गर्ने स्ववियुले चेतावनी दिएको छ।
त्रिवि स्ववियु सभापति श्यामराज ओझाले विज्ञप्ति जारी गर्दै विश्वविद्यालयको सर्वोपरि हितका लागि सकारात्मक भूमिका खेल्न आग्रह गरेका छन्। त्रिविमा डिन र निर्देशकहरूको नियुक्तिमा ढिलाइ हुनु दुर्भाग्य रहेको स्ववियुले जनाएको छ। ‘एक दिन जिम्मेवार तथा जवाफदेही पदमा नियुक्ति ढिला हुनु एक पुस्ताको भविष्य निर्माणमा ढिला हुनु हो,’ वित्रप्तिमा भनिएको छ।
विश्वविद्यालयमा स्वार्थ समूह हावी हुन नहुनेमा स्ववियुको जोड छ। मेरिटका आधारमा, प्राप्ताङ्कसमेत सार्वजनिक गरी, पारदर्शी तरिकाले, विज्ञापन गरी प्रक्रियासमेत पूरा गरिसकेका सबै पदहरूको नियुक्ति यथाशीघ्र गर्न त्रिविका उपकुलपति, शिक्षाध्यक्ष, रजिस्ट्रार तथा कार्यकारी परिषद्सँग जोडदार माग गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ।
‘विश्वविद्यालयलाई अनिर्णयको बन्दी बनाउँदै मेरिट मिचेर अघि बढे, त्यसको प्रतिवाद गर्ने र उक्त कार्य गर्ने तथा गर्न प्रेरित गराउनेविरुद्ध आमयुवा विद्यार्थीले संघर्ष गर्ने कुराको चेतावनीसमेत दिन चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ।