सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–१९ का अर्जुनप्रसाद यसरी जमे व्यावसायिक परवरखेतीमा

२०८१ मंसिर २२, ११:०२ नारायण अवस्थी

धनगढीः कैलालीको धनगढी उपमहानगरपालका–१९ का अर्जुनप्रसाद चौधरी व्यावसायिक परवर खेतीमा जमेका छन्।

सात वर्षअघि ५० बिरुवाबाट सुरु भएको अर्जुनप्रासदको परवरखेती अहिले दुई बिघा क्षेत्रफलमा फैलिएको छ। २०६३ सालमा कृषि विकास कार्यालय धनगढीले उपलब्ध गराएको ५० बोटमा परवर उत्पादन राम्रो भएपछि सात वर्षदेखि अर्जुनप्रासद सुदूरपश्चिममै सबैभन्दा बढी परवर उत्पादन गर्ने किसान बनेका छन्। ख्यालख्यालमै परवरखेती सुरु गरेको बताउने चौधरीले दुई वर्षदेखि दुई बिघा जग्गामा परवरखेती गरेका छन्।

उनले भने, ‘सात वर्षदेखि परवरखेती गर्दै आएको छु। अहिले जग्गा लिजमा लिएको छु। तेह्र धुरमा पचास बोट लगाएर सुरू भएको परवरखेती अहिले दुई बिघामा फैलिएको छ।’ अर्जुनप्रसादले काजल, बम्फर, क्रान्ति, राजेन्द्र, गोला जातको परवर लगाएका छन्। उनले परवरखेती गर्न सजिलो भएको बताए। उनले भने, ‘मल र सिँचाई थोरै चाहिने, एक पटक लगाएको बिरुवाले सात वर्षसम्म फल दिने तथा गोडमेल र विषादीको आवश्यकता नपार्ने भएकाले परवरखेतीमा लागत निकै कम छ।’

चौधरीले साउन—भदौ दुई महिनामा मात्रै २८ क्वीन्टल परवर बिक्री गरेको बताएका छन्। उनले भने, ‘अग्रिम भुक्तानी लिएर सय रुपैयाँ किलोग्राममा दरले परवर बिक्री गरेको थिए।’ एक कट्ठामा सात क्वीटलका दरले परवर उत्पादन हुने गरेको चौधरीले बताएका छन्। उनले परवरको बोटसमेत बिक्री गर्दै आएका छन्। चौधरीले यो वर्ष ४० रुपैयाँका दरले तीन हजार दुई सय बिरुवा बिक्री गरिसकेका छन्। थप एक हजार ६ सय बिरुवाको माग आएको उनले बताए।

दैनिक बढीमा तीन घण्टा मात्रै काम गरेर चौधरीले दुई बिघा जग्गामा परवरसँगै पान, खुर्सानी अदुवा बेसार, मुला, ओल, टमाटर लगायतका तरकारी समेत उत्पादन गर्दै आएका छन्। चौधरीले सबै खर्च कटाएर तरकारी खेतीबाट मासिक ९० हजारसम्म बजत हुने गरेको बताएका छन्। ‘दैनिक बढीमा तीन घण्टा काम गरेर मैले मासिक एक लाख आम्दानी गरिरहेको छु,’ उनले भने, ‘सबै खर्च कटाएर ९० देखि ८५ हजार बचत हुन्छ,’ चौधरीले भने।

आइपिएम कृषकसमेत रहेका अर्जुनप्रसादले तरकारी खेती गर्न चाहने किसानहरूलाई प्राविधिक सहयोग गर्दै आएका छन्। लगानीभन्दा आम्दानी बढी हुने भएकाले परवरखेती गर्नु लाभदायक भएको उनको दाबी छ। अर्जुनप्रसादले उत्पादित परवर र अन्य तरकारी धनगढी तथा काठमाडौं पठाउने गरेका छन्। उनले बजारको कुनै समस्या नरहेको बताए।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस