कैलालीका रामबहादुर खुर्सानी बेचेरै छोरालाई इन्जिनियर पढाउँदै
सुखड : कैलालीको घोडाघोडी नगरपालिका–४, गणेशपुरका रामबहादुर चौधरीले यतिखेर हप्तामा तीन दिन हाटबजारमा आफ्नो उत्पादन बेचेर राम्रो आम्दानी गर्दै आएका छन।
पाँच वर्ष पहिलासम्म सामान्य निर्वाहमुखी खेतीपाती गर्दै आउनुभएका चौधरीले व्यावसायिक तरकारी खेती गर्न थालेपछि थोरै जमिनबाट धेरै आम्दानी लिन थालेका छन। उनले अहिले पाँच कट्ठामा लगाएको हरियो खुर्सानीको आम्दानी लिदैछन।
हरियो खुर्सानीबाट मात्र उनले वार्षिक ६ लाख रुपियाँ आम्दानी गर्दै छन। उनले भने, ‘एक सयदेखि दुई सयसम्म प्रतिकिलोका दरले हाटबजारमा नै मेरो खुर्सानी खपत हुन्छ । पहिला पहिला व्यापारीलाई दिँदा खासै फाइदा हुन्थेन। हाटबजार लाग्न थालेपछि आफैँले बेच्ने गरेपछि फाइदा राम्रै हुने गरेको छ।’
चौधरीले तीन÷चार थरीका खुर्सानी हाटबजारमा बेच्न राखेका छन। बढी पिरो, कम पिरो र स्वादको मात्र गरी विभिन्न थरीका खुर्सानी ग्राहकले आफ्नो स्वाद अनुसार लैजाने गरेको उनले बताए। उनले हप्तामा गौरीगङ्गा नगरपालिकाको मसुरिया, घोडाघोडीको सुखड र बर्दगोरिया गाउँपालिकाको बौनियामा लाग्ने हाटबजारमा खुर्सानी बेच्ने गर्दै आएका छन।
बर्सातको समयमा खुर्सानीले राम्रै मूल्य पाएको बताउँदै उनले दुई सयदेखि २५० रुपियाँसम्म प्रतिकिलोका दरले बेचेको बताए। एक सिजनमा १५ क्विन्टलसम्म हरियो खुर्सानी फलाएर बेच्ने गरेको चौधरीको भनाइ छ।
खुर्सानीसँगै उनको बारीमा टमाटर, फूलगोभी पनि बेच्नका लागि तयार हुँदै छ। चौधरीले व्यावसायिक तरकारी खेती गरेपछि उनको घरखर्च चलाउन र छोराछोरी पढाउन सहज भएको बताए। उनले भने, ‘तरकारी खेतीकै आम्दानीले एउटा छोरो भारतमा इन्जिनियर पढ्दै छ, अर्को प्रहरीमा जागिरे छ।’ सरकारबाट कुनै अनुदान नलिएको बताउने उनले सरकारले दिने अनुदान किसानका लागि नभएको बताए। उनले भने ‘हामी जस्ता किसानलाई अनुदान लिने फुर्सद हुँदैन, सरकारी अनुदानका लागि के के प्रक्रिया गर्नु पर्छ, त्यो समयमा हामी तरकारी लाउनमै व्यस्त हुन्छौँ । किसानका नाममा फुर्सद भएका मानिसले कागज मिलाएर अनुदान खान्छन् ।’