सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा झोलुङ्गे पुल नै धरापमा पार्ने गरेर नदीजन्य पदार्थको अवैध उत्खनन

२०८१ मंसिर १२, ०६:५४ कमल सावद

धनगढीः कैलालीको धनगढीमा झोलुङ्गे पुल नै जोखिममा पारेर अवैध रुपमा उत्खनन हुँदै आएको पाइएको छ।

धनगढी उपमहानगरपालिका–१७ घुर्जना र गोदावरी नगरपालिका–९ सेहरी जोड्ने झोलुङ्गे पुल नै जोखिममा पारेर नदीजन्य पदार्थको उत्खनन, तथा बिक्री गर्ने काम हुँदै आएको हो। धनगढी उपमहानगरपालिकाले नगर प्रहरी परिचालन गरेर नदीजन्य पदार्थ सङ्कलन तथा बिक्री गर्दै आएको छ।

उपमहानगरपालिकाले नदीजन्य पदार्थको ठेक्का सम्झौता नगरेकाले नगर प्रहरीमार्फत ढुङ्गा, गिट्टी, बालुवाको राजस्व (रोयल्टी) सङ्कलन गर्दै आएको छ। तर, नगर प्रहरीको निगरानीमा नै झोलुङ्गे पुलको पाँच सय मिटरभित्रबाट नदीजन्य पदार्थको सङ्कलन हुँदै आएको छ। नदीमा भेटिएका नगर प्रहरीले प्राविधिक नआएको बताए। गत वर्ष सङ्कलन गरेको क्षेत्रबाटै निजी व्यापारी तथा कम्पनीहरूले नदीजन्य पदार्थ सङ्कलन गरेको उनले बताए।

नगर प्रहरीले भने निर्देशन अनुसार नदीमा स्काभेटर प्रयोग भएको बताएको छ। धनगढी उपमहानगरपालिका–१७ का वडाध्यक्ष माधवराज रानाले पुलको उत्तरतिर पाँच सय मिटर र दक्षिणतिर एक हजार मिटर क्षेत्रभित्र नदीजन्य पदार्थ सङ्कलन गर्न नहुने मापदण्ड रहेको बताए। तर, दक्षिण क्षेत्रमा पाँच सय मिटर भित्र नदीजन्य पदार्थ सङ्कलन हुँदै आएको विषयमा आफू जानकार नभएको उनले बताए। नदी कटानका कारण झोलुङ्गे पुल जोखिममा परेको उनले बताए।

उनले भने, ‘झोलुङ्गे पुलको बिचको पिल्लरबाट ५० मिटर पश्चिमतिर नदी थियो। अहिले ५० मिटर पूर्व सरेको छ। पूर्वको पिल्लर गहिरो छैन। यो पिल्लरसम्म नदी आयो भने, पुल भत्किन्छ।’ कैलालीका प्रमुख जिल्ला अधिकारी धमेन्द्र मिश्रले नदी–खोलाहरूको संरक्षणको जिम्मा स्थानीय तहको रहेको बताए। उनले स्थानीय तहहरूले नै नदीको रोयल्टी र संरक्षणको अधिकार पाएको उनले बताए।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस