सीटीईभीटी तालाबन्दी निषेध क्षेत्र घोषणा
काठमाडौँः प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का उपाध्यक्ष ओमप्रसाद दाहालले सीटीईभीटी तालाबन्दी निषेधित क्षेत्र घोषणा गरेका छन्। सोमवार पदभार ग्रहण गर्दै उनले सो घोषणा गरेका हुन्। उपाध्यक्ष दाहालले आजदेखि तालाबन्दी निषेध क्षेत्र घोषणा गर्दै सबैले सीटीईभीटीका श्रीवृद्धिमा लाग्न आग्रह गरे।
उनले सुशासनलाई मूल मन्त्र मानेर सरोकारवाला पक्षसँग समन्वय, सहकार्य गरी टिममा काम गर्ने बताए। उनले सरोकारवाला पक्षसँग बसेर सीटीईभीटीको वर्तमान अवस्था, समस्या र समाधानका उपायहरू खोजी त्यसको आधारमा गुरुयोजना बनाइ अहोरात्र खट्नुपर्ने आवश्यकता औँल्याए।
देशभरका आम युवाहरूमा प्राविधिक शिक्षाको पहुँच पुर्याउन सातवटै प्रदेशमा प्राविधिक शिक्षाप्रति अवेरनेस क्याम्पियन गर्नुपर्ने बताए। उनले सीटीईभीटीप्रति जायज माग छन् भने त्यसलाई वार्ता र संवादबाट समाधान गर्ने आश्वासन दिए।