समाजवाद स्थापना नभएसम्म क्रान्ति निरन्तर गर्नेछुः विप्लव
काठमाडौँः नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपाली विशेषताको समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम नलिने दृढता व्यक्त गरेका छन्।
नेपाल कम्युनिस्ट पार्टीको ११ औँ स्थापना दिवसका अवसरमा भृकुटीमण्डपमा आज आयोजित सभामा उनले ८० को दशकलाई राष्ट्रिय स्वाधिनता, समाजवाद निर्माणलाई केन्द्रित गरी आफ्ना कार्यक्रम र राजनीतिक गतिविधि अघि बढाउने धारणा राखे।
विगतमा नेकपा (माओवादी) मा रही नेपाली जनताको परिवर्तनको चाहना र न्यायका लागि गरेको योगदान इतिहास साक्षी रहेको बताउँदै महासचिव चन्दले देश र नेपाली जनताको सुख तथा समृद्धिका सधैँ काम गरिरहने विचार प्रकट गरे। पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माले विगतमा क्रान्तिको अगुवाई गरेका कतिपय कम्युनिस्ट पार्टीमा उतार–चढाव तथा विचलन आएपछि जनताको क्रान्तिको नेतृत्व आफ्नो पार्टीले गर्दै आएको बताए।