सुदूर नेपाललाई विश्वसँग जोड्दै

पहिलो शनिवारे मेलामा २ लाखको कारोबार, अब सांस्कृतिक कार्यक्रम पनि

२०८१ मंसिर ६, ०६:४६ नारायण अवस्थी

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाको पहिलो दिनको शनिवारे मेलामा २ लाखको कारोबार भएको छ।

धनगढी उपमहानगरपालिकाले गत शनिवार महिला उद्यमी मेलाको आयोजना गरेकोमा करिब २ लाखको कारोबार भएको हो। धनगढी उपमहानगरले आयोजना गरेको मेलामा धनगढीका महिला उद्यमीले आफ्ना उत्पादन बिक्री गरेका हुन्। उपमहानगरपालिकाले साप्ताहिक रूपमा सञ्चालन गर्ने महिला उद्यमी मेलामा घरमै सीमित उद्यमी महिलाहरूले मात्रै स्टल राख्न पाउने व्यवस्था गरिएको छ। मङ्सिर १ गते लागेको पहिलो मेलामा ५६ स्टलमा महिलाहरूले खाद्य परिकार र हस्तकलाका सामग्री बिक्री गरेका थिए।

मंसिर ८ गते लाग्ने दोस्रो शनिवारे मेलामा विभिन्न सांस्कृतिक कार्यक्रम समेत गरिने भएको छ। शनिवार अर्थात् ८ गते लाग्ने दोस्रो मेलामा बालबालिकाले खेल्न मिल्ने प्लेस्टेसन समेत राखिने भएको छ। धनगढी उपमहानगरपालिकाले मङ्सिर १ गतेदेखि सुरु गरेको शनिवारे महिला उद्यमी मेलालाई थप व्यवस्थित र परिष्कृत गर्ने भएको हो। मङ्सिर ८ गते शनिवार लाग्ने महिला उद्यमी मेलामा सांस्कृतिक कार्यक्रम देखाइने भएको छ। मेलामा बालबालिकाहरूका लागि प्लेस्टेसन राखिने भएको छ भने मेलालाई थप परिष्कृत र व्यवस्थित बनाउँदै विभिन्न विद्यालयका विद्यार्थी र स्थानीय कलाकारको प्रस्तुति राखिने भएको छ।

व्यवसाय प्रवृद्धनसँगै स्थानीय कला र संस्कृतिको जगेर्ना गर्न आगामी दिनमा लाग्ने मेलामा तालिका अनुसार विभिन्न सांस्कृतिक झाँकी देखाउने व्यवस्था गरिने उपमहानगरपालिकाका रोजगार तथा उद्यमशीलता शाखा प्रमुख चन्द्र महराले बताए। ‘मङ्सिर १ गते लागेको पहिलो मेलामा करिब दुई लाखको कारोबार भएको छ।

पहिलो दिनको मेलाबाट केही सुधार गर्नुपर्ने सुझाव पनि आएको छ,’ उनले भने, ‘दोस्रो मेलाबाट तालिका बनाएर विभिन्न सांस्कृतिक झाँकी देखाउने र बालबालिकाका लागि खेल्नका लागि प्लेस्टेसन समेत राखिने भएको छ। मेलालाई थप व्यवस्थित गर्ने र पहिलो दिन देखिएका कमजोरी हुन नदिने हामीले प्रयास गरेका छौँ।’

दोस्रो दिनको मेलाका लागि केही स्टल थप गरिएको छ भने सरसफाइ जस्ता कुरालाई ध्यान दिन उद्यमीहरूसँग बिहिवार परामर्श बैठक गरिएको छ। पहिलो दिनको मेलाबाट प्राप्त भएको पृष्ठपोषणका आधारमा सुधारका सबै उपाय अपनाउने उपमहानगरले बताएको छ। धनगढी–१ पार्कमोडमा लाग्ने शनिवारे महिला उद्यमी मेला दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म लाग्नेछ।

हातमा सिप भएका तर, अहिलसम्म पसल थापेर व्यापार नगरेका महिलाहरूलाई व्यवसायमा उतार्न मेला आयोजना गरिएको हो। हरेक शनिवार लाग्ने मेलामा सहभागी हुने महिलाहरूलाई विस्तारै पूर्णकालीन व्यवसायी बनाउने लक्ष्य रहेकोनगर प्रमुख गोपाल हमालले बताए। ‘उपमहानगरपालिकाले सिप भएका तर, घरमै सीमित महिलाहरूलाई बाहिर ल्याउन शनिवारे महिला उद्यमी मेला लगाएको हो। यो मेला निरन्तर चलाइने छ।

मेलामा व्यवसाय गर्दै विस्तारै पूर्णकालीन उद्यमी बनाउने हाम्रो लक्ष्य हो,’ नगर प्रमुख हमालले भने। शनिवारे महिला उद्यमी मेलालाई व्यवस्थित बनाउन मेला लाग्ने स्थानमा मञ्च बनाउने काम भइरहेको छ। मेलामा बालबालिकाको मनोरञ्जनलाई ध्यानमा राखेर प्लेस्टेसन राखिने भएको छ भने निःशुल्क पार्किङ, पिउनेपानी र शौचालयको व्यवस्था गरिँदै आएको छ।

 

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस