सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका किसान व्यावसायिक च्याउखेतीमा

२०८१ मंसिर ६, ०१:१२ खबर संवाददाता

अत्तरियाः कैलालीका किसान व्यावसायिक च्याउखेतीमा आकर्षित भएका छन्। अन्य खेतीको तुलनामा च्याउखेतीबाट मनग्ये आम्दानी हुने भएकाले उनीहरूको यसमा आकर्षण बढेको हो।

धनगढी उपमहानगरपालिका–११, जोकैयाका मङ्गल चौधरीले व्यावसायिक च्याउखेतीबाट प्रशस्त आम्दानी गर्दै आएका छन। उनले सुभाष बहुउद्देश्यीय कृषि फर्म दर्ता गरेर च्याउखेती गर्दै आएका हुन। चार वर्षअघि ६० हजार लगानीमा एउटा टनेलबाट च्याउखेती थाल्नुभएका उनले हाल पाँच वटा टनेलबाट च्याउ उत्पादन गर्दै आएका छन। 

पाँच वटा टनेलबाट उत्पादन भएको च्याउ विक्रीबाट सबै खर्च कटाएर छ महिनामा छ लाख बचत हुने उनले बताए। उनले भने, ‘हिउँदका छ महिना मात्रै च्याउ उत्पादन गर्छु । ‘किङ्ग ओइस्टर’ च्याउ उत्पादन गर्दै आएको छु। यो च्याउ प्रतिकिलो दुई सयदेखि दुई सय पचासमा बिक्री हुने गरेको छ।’

‘बजारको मागअनुसार आपूर्ति गर्न सकेको छैन’, उनले भने,– ‘प्रतिदिन ७० देखि ८० केजी च्याउ बिक्री गर्दै आएको छु।’ च्याउखेतीमा लगानी कम र आम्दानी बढी हुने उहाँ बताउनुहुन्छ। उनले भने,– ‘यसमा लगानी कम भए पनि मेहनत बढी चाहिन्छ । चार जनाको परिवार छ,घर खर्च चलेको छ। पराल काट्ने मेसिन, मिनिटिर च्याउ बेचेर किनेको छु।’ च्याउखेती विस्तार गर्दै जाने आफ्नो योजना उनले बताए। 

यसैगरी, गोदावरी नगरपालिका–८ फकलपुरकी राजकुमारी चौधरीले पनि सात व्यावसायिक रूपमा च्याउखेती गरेका छन। च्याउ बिक्रीबाट खर्च कटाएर वार्षिक दुई लाख बचत हुने गरेको उनले बताए। उनले भने, ‘च्याउखेतीबाट छोटो समयमा प्रशस्त आम्दानी गर्न सकिन्छ।’ च्याउ बिक्रीमा कुनै समस्या नभएको बरु माग धान्न कठिन भएको उहाँको अनुभव छ।
 

कमेन्ट लोड गर्नुस