सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज सार्वजनिक बिदा

२०८१ मंसिर ३, ०९:५५ खबर संवाददाता

काठमाडौँः पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो। सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकले ढुंगानाको निधनमा गहिरो शोक र सद्धाञ्जली तथा परिवारमा समवेदना व्यक्त गर्दै आज बिदा दिने निर्णय गरेको जनाए।

त्यस्तै ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने पनि सरकारले निर्णय गरेको छ। त्यसैगरी स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा आधा झण्डा झुकाउने निर्णय पनि सरकारले गरेको छ। कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो।

त्यसलगत्तै ढुङ्गानाको पार्थिव शरीर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित शवगृहमा राखिएको छ। पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान ११ बजेदेखि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिने भएको छ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका नेता तथा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरु त्यहाँ पुगेर ढुङ्गानाप्रति श्रद्धाञ्जली प्रकट गर्नेछन्।

कमेन्ट लोड गर्नुस