स्पेनको हेरचाह गृहमा आगलागी हुँदा १० जनाको ज्यान गयो
एजेन्सीः स्पेनको एक हेरचाह गृहमा आगलागी हुँदा १० जनाको ज्यान गएको छ।
उत्तर–पूर्वी स्पेनको जरागोजा नजिकैको एक हेरचाह गृहमा भएको आगलागीमा परी १० जनाको ज्यान गएको र अन्य केही मानिस घाइते भएका आपत्कालीन सेवाहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।
आगलागीमा परी घाइते भएकाहरूको सङ्ख्या भने उल्लेख भएको छैन। भिल्लाफ्रान्का डे एब्रो शहरमा शुक्रवार बिहान आगलागी भएको र स्थानीय अधिकारीहरूले हेरचाह गृहमा ८२ जना मानिस बस्दै आएका बताएका छन्। स्थानीय रिपोर्टहरूका अनुसार यो केन्द्र १६ वर्षअघि सेवानिवृत्ति गृहका रूपमा खोलिएको थियो
पछि डिमेन्सिया अर्थात् बुढेसकालमा बिर्सने समस्या र मानसिक स्वास्थ्य समस्या भएकाहरूको हेरचाहमा विशेष बनाइएको थियो। नौ वर्षअघि जरागोजा क्षेत्रमा रहेको अर्काे सेवानिवृत्ति गृहमा भएको आगलागीमा परी नौ जनाको ज्यान गएको थियो।