सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाका दुई स्थानीय तहमा आज र भोलि सार्वजनिक बिदा 

२०८१ कार्तिक २८, ०८:५० खबर संवाददाता

दार्चुलाः दार्चुलाका दुई स्थानीय तहहरुले आज र भोलि दुई दिन सार्वजनिक बिदा दिएका छन्। 

राष्ट्रकै सातौं धामको रुपमा रहेको प्रसिद्ध मालिकार्जुन धामको जात्राको अवसरमा शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन्। मालिकार्जुन धाममा आज कार्तिक शुक्ल त्रयोदशीका दिन शिखर पूजन जात्रा हुने र भोलि कार्तिक शुक्ल चतुर्दशीका दिन मालिकार्जुन मन्दिरमा जात्रा हुने भएकाले बिदा दिइएको सम्बन्धित स्थानीय तहहरुले जनाएका छन्। 

मालिकार्जुन धामको जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरु समेत आउने गरेका छन्। मालिकार्जुन धामको जात्रामा स्थानीयहरुको सहभागितालाई ध्यानमा राखेर हरेक बर्ष जस्तै यो बर्ष पनि बिदा दिइएको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर बिष्टले बताए। 

यस्तै मालिकार्जुन जात्रालाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नका लागि मालिकार्जुन मन्दिर व्यवस्थापन समितिले जात्रा अवधिभर उक्त क्षेत्रमा जुवातास खेल्न र खेलाउन तथा मदिरा विक्रि, वितरण तथा सेवनमा पूर्णतया रोक लगाएको छ। 

कमेन्ट लोड गर्नुस