प्रख्यात लोकगायिका सिन्हाको श्रद्धाञ्जली सभा
विराटनगर: प्रख्यात लोकगायिका शारदा सिन्हाको तेस्रो दिनको पून्य तिथिमा आज विराटनगरमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ।
नागरिक मिडिया प्रालि विराटनगरद्वारा आयोजित सभामा वक्ताहरुले गायिका सिन्हा मैथिली र भोजपुरी भाषामा आफ्ना लोकगीतहरूको माध्यमबाट समाजको मन जित्न सफल भएको भन्दै उहाँको योगदानको चर्चा गरेका थिए।
सिन्हाको योगदानलाई सम्मान गर्दै भारत सरकारले ‘पद्म श्री’ र ‘पद्म भूषण’ जस्ता प्रतिष्ठित पुरस्कारबाट सम्मानित गरेको स्मरण गर्दै वक्ताहरूले उहाँले लोकसङ्गीतको क्षेत्रमा नयाँ आयामहरू थप्दै मैथिली र भोजपुरी लोकगीतलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन अतुलनीय योगदान पु¥याएको बताएका थिए।
सभामा देवानगङ्ज गाउँपालिका–२ का अध्यक्ष जगनारायण मेहताले सिन्हाले सांस्कृतिक रीतिरिवाजलाई गीतको माध्यमबाट जिउँदो राख्न महत्वपूर्ण भूमिका खेल्नुभएको उल्लेख गरे। वक्ताहरू भीमनन्दन शर्मा, रामसुन्दर मेहता, लक्ष्मण मेहता, मनमोहन यादव, विद्यानन्द मेहता र राजु मेहताले पनि गायिका सिन्हाको योगदानको विषयमा चर्चा गरे।
आयोजक संस्थाका प्रबन्ध निर्देशक पत्रकार अरविन्द मेहताले सिन्हाका गीतहरूले मैथिली समाजका विभिन्न संस्कार र सांस्कृतिक विविधतालाई अमर बनाउँदै जनतामा आत्मीयता जगाएको धारणा राखे।
भारतको बिहार निवासी उहाँको उपचारका क्रममा मङ्गलबार निधन भएको थियो।