धनगढीका युवाको डिजेमा देउसी
धनगढी : लक्ष्मीपूजाको दिन भैलो र गोवर्धन पूजाको दिन देउसी खेल्ने नेपाली मौलिक धार्मिक परम्परा विस्तारै लोप हुँदै गएको छ। झिलिमिली साँझमा घरको दैलोमा आएर भैलो खेल्ने, आँगनभरी घुमेर देउसी खेल्ने विगतका सांस्कृतिक मौलिक परम्परा आजभोलि विरलै देख्न पाइन्छ।
सहरी क्षेत्रमा तिहार पर्व प्रारम्भ हुने बित्तिकै लक्ष्मीपूजा वा गोवर्धन पूजा नै नगरी देउसी खेल्न प्रारम्भ गरिन्छ। त्यो देउसीमा चलचित्र गीत, माया पिरतीका गीत, पप, र्याप गीत गाउने गएर देउसी भैलो खेल्ने गरेको देखिन्छ। धनगढीका युवाहरूले डिजेमा गीत बजाउदै देउसी खेल्ने गरेका छन। धनगढीमा मात्र नभएर ग्रामीण क्षेत्रका युवा–युवती तथा किशोर–किशोरीहरू आधुनिक तरिकाले देउसी–भैलो खेल्न थालेका हुन। डिजेमा बजेका गीतहरूमा नेपालीपन कमै हुने गरेको छ।
धनगढीका पदमराज जोशीले तिहारको देउसी र भैलोको उद्देश्य विहीन भएको बताए। उनले भने, ‘तिहारमा देउसी भैलो खेल्ने परम्परा छ। अहिले नामको मात्र देउसी भैलो छ। उद्देश्य विहीन भएको छ। हाम्रो इतिहास, समाजको विषय उठेको छैन। आर्थिक सङ्कलनमा केन्द्रीत भएको छ। आर्थिक सङ्कलन गरेर कुनै उद्देश्य पनि छैन।’
तिहारमा देउसीभैलो खेल्ने मौलिकपन हराउँदै गएको हो। आर्थिक विषय मात्र संस्कृतमा प्रवेश गरेकाले समस्या भएको तर्क जोशीले गरेका छन। देउसी–भैलोको सुरुवात जुम्लाका राजाले सुरुवात गरेका जोशीले बताए। उनले भने, ‘साना साना समूह बनाउने। समूहले पैसा मात्र सङ्कलन गर्ने काम गरेका छन। नराम्रा पक्षहरूलाई हटाउने प्रयास गर्नुपर्छ। इतिहास, संस्कृतिका कुराहरू समाजमा ल्याउ सक्नुपर्छ।’ धार्मिक मान्यता अनुसार अहिले देउसीभैली खेल्न प्रचलनमा कमी आएको हो। धनगढी उपमहानगरपालिका–८ की लक्ष्मी भण्डारीले पुरानो संस्कृति पर्वको रूपमा रहेको देउसी भैलो हराएको बताइन। उनले भनिन्, ‘हामी पुरानो परम्परामा खेल्ने गरेका थियौ। आशिष् दिने हुन्थ्यो। अहिले तीजमा विकृति आएजस्तै देउसी भैलोमा पनि विकृति आएको छ। आधुनिकता आएको छ।’
देउसीभैलो भन्ने बित्तिकै तिहार पर्व भन्ने बुझिन्छ। तर, तिहार पर्व कहिले ? कुन मितिबाट प्रारम्भ भयो ? भन्ने एकिन नभए पनि झिलिमिली पर्वका रूपमा तिहार मनाउनुका विभिन्न आधार छन्।
धार्मिक ग्रन्थ रामायणमा भगवान रामले वनवास सकेर आएपछि अयोध्यामा फर्केपछि खुसियाली मनाउनका लागि दीपावली गरिएको भन्ने प्रसङ्ग छ। अर्को प्रसिद्ध धार्मिक प्रसङ्ग बलि राजासँग जोडिएको छ।