सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा पस्मिना उत्पादनको सम्भाव्यता अध्ययन स्वीकृत

२०८१ कार्तिक १६, १२:२५ कमल सावद

धनगढी : सुदूरपश्चिम प्रदेशका तीन हिमाली जिल्लाहरूमा पस्मिना उत्पादनका लागि गरिएको सम्भाव्यता अध्ययन स्वीकृत गरिएको छ। सुदूरपश्चिम प्रदेश सरकारले बाजुरा, बझाङ र दार्चुलामा च्याङ्ग्रापालन तथा पस्मिना उत्पादनको सम्भाव्यता अध्ययन गरिएकोमा स्वीकृत गरिएको हो।

सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्षमा पस्मिना उत्पादनको सम्भाव्यता अध्ययन गरेकोमा स्वीकृत गरिएको प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले बताएको छ। मन्त्रालयले चालु आर्थिक वर्षमा तीन हिमाली जिल्लाहरूमा ५० लाखका दरले बजेटसमेत विनियोजन गरेको छ। दार्चुलामा पस्मिना उत्पादनका लागि च्याङ्ग्रा पालनको कामसमेत सुरु भएको छ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले बाजुरा, बझाङ र दार्चुलामा च्याङ्ग्रा पालन सम्बन्धी स्थलगत सर्भे तथा सम्भाव्यता अध्ययन कार्य स्वीकृत गर्दै चालु आर्थिक वर्षमा बजेट विनियोजन गरेको हो। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बाजुराका प्रमुख शिद्धराज जोशीले बाजुरामा पस्मिनाको सम्भावना नरहेको बताए। उनले भने, ‘हाम्रो जिल्लामा यो पटक ५० लाख बजेट छ। यता हुँदैन होला। दार्चुलाको व्याँसमा सुरु भएको छ। बाजुराको खप्तड छेडेदहमा बजेट छ। तर, फिर्ता जान्छ होला। यो क्षेत्रमा पस्मिनाको उत्पादन हुँदैन।’

समुन्द्री सतहदेखि चार हजार पाँच सय मिटर उचाइमा रहेको हिमाली क्षेत्रमा पस्मिना उत्पादनको सम्भावनाका बारेमा अध्ययन गरिएको थियो। गत आर्थिक वर्षमा ४५ लाख पस्मिनाको सम्भाव्यता अध्ययनका लागि बजेट विनियोजन गरिएकोमा ३० लाख ९३ हजार खर्च भएको थियो।

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस