सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा ‘ग्याङफाइट’ गर्ने १४ जना पक्राउ, घाइते तीन जनाको उपचार हुँदै

२०८१ कार्तिक ३, ०३:४४ खबर संवाददाता

अछामः अछाममा दुई समुहका युवाहरुबिच ‘ग्याङफाइट’ भएको छ।

जिल्लाको मंगलसेन र सुगालीका युवाहरूबिच ‘ग्याङफाइट’ भएको हो। दुबै पक्षका युवाहरुबिच कुटाकुट हुँदा तीनजना घाइते भएका छन्। कुटाकुटमा संलग्न १४ जनालाई प्रहरीले पक्राउ गरेको छ। मादक पदार्थ सेवन गरेर दुई समुहका युवाहरुबिच कुटाकुट भएको प्रहरीले जनाएको छ।

कुटपिटमा संलग्नहरुलाई खुकुरी र फलामका रडसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले बताए। गत असोज ३० गते जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका–४ तिमिल्सेनमा लागेको सैनीगडा मेलामा मंगलसेन नगरपालिका वडा नम्बर ३ र ४ तथा बान्नीगढी जयगढ गाउँपालिकाको वडा नम्बर ५ सुगालीका युवाहरूको समूहबिच ‘ग्याङफाइट’ भएको थियो।

सो घटनामा सुगालीका विराज रावल, विनय रावल र महेन्द्र रावल घाइते भएका छन्। उनीहरूको टाउको, ढाड, घाँटी र पिठ्युँमा चोट लागेको छ। घाइते तीनैजनाको उपचार भइरहेको डिएसपी भण्डारीले बताए। उनका अनुसार घटनामा संलग्नहरूले मदिरा सेवन गरेर खुकुरी र फलामका रडलगायतका हातहतियारसहित आक्रमण गरेको देखिएको छ।

घटनामा संलग्न मंगलसेन ३ र ४ का १४ जनालाई नियन्त्रणमा लिइएको छ। उनीहरूमध्ये ९ जनालई बिहीबार र ५ जनालाई शुक्रबार पक्राउ गरिएको हो। घाइते भएको समूहले दिएको जाहेरीअनुसार घटनामा संलग्न केही व्यक्ति अझै फरार रहेको प्रहरीले बताएको छ।

कमेन्ट लोड गर्नुस