सुदूर नेपाललाई विश्वसँग जोड्दै

साँफे–मार्तडी सडक मर्मत भएसँगै आवतजावत सहज

गोरखापत्र अनलाइन
गोरखापत्र अनलाइन । फोटो स्रोत ।
२०८१ कार्तिक २, ०९:०८ खबर संवाददाता

बाजुराः साँफे मार्तडी सडक अन्तर्गत बार्जुगाडदेखि मार्तडी सडकको मर्मत भएसँगै आवतजावतमा सहजता आएको छ। सडकमा खाल्टाखुल्टी भएकाले पछिल्लो समय चल्ने सवारीसाधन र यात्रीले कष्टकर यात्रा गर्नुपर्ने बाध्यता थियो। अहिले सडकमा भएको खाल्टाखुल्टी पुर्ने गरी सडक डिभिजन कार्यालय अछामले मर्मत कार्य अगाडि बढाएपछि उक्त सडकमा चल्ने सवारीसाधनलाई आवतजावतमा सहजता आएको छ। 

बाजुराको इकडीगाडदेखि मार्तडीसम्मको झन्डै ४२ किलोमिटर सडक केही वर्ष पहिला कालोपत्रे भएको थियो। तर, समयमा स्तरोन्नति नहुँदा सडकको अवस्था कमजोर बनेको थियो। डिभिजन कार्यालयले त्यसमध्येको १६ किलोमिटर सडकको आवधिक मर्मत कार्य सुरु गरेको जनाएको छ।

अविरल वर्षाका कारण सडक बिग्रिँदै गएकाले त्यसलाई बलियो पार्ने गरी सडकलाई कालोपत्रे गर्ने काम भइरहेको सडक डिभिजन कार्यालय अछामका सुपरभाइजर गोकुल गिरीले बताए। उनले भने, ‘सडकमा भएको खाल्टाखुल्टीले आवतजावतमा समस्या हुँदै आएको थियो। अहिले सबै खाल्टाखुल्टी पुर्ने गरी कालेपत्रेको काम गरेपछि सहज भएको छ।’

बार्जुगाडदेखि मार्तडीसम्मको झन्डै २७ किलोमिटर सडकमध्ये १६ किलोमिटर सडकमा कालोपत्रे काम पूरा भएको गिरीले बताए। साँफेमार्तडी सडक कालोपत्रे भएको झन्डै १० वर्षपछि अहिले पुनः त्यसलाई कालोपत्रे गर्ने काम भएको हो। सडकको बिचमा गएको पहिरोका कारण केही ठाउँमा अहिले पनि सवारीसाधन चलाउन निकै सास्ती हुँदै आएको छ। बुढीगङ्गा नगरपालिका–२, ताँप्री सेरा, अम्कोट, बल्देलगायतका अधिकांश ठाउँमा बर्सातमा गएको पहिरोले सडक भत्केको थियो। ती ठाउँमा कालोपत्रे गर्ने काम समयमा हुन नसक्दा यात्रीले कष्टकर यात्रा गर्दै आउनु परेको थियो। त्यस सडकखण्डमा हिउँदमा केही महिना गाडी चल्ने र बर्सातमा फेरि गाडी रोकिँदै आउने गरेका छन्। यस सडकको ल्याब परीक्षण गर्नका लागि सडक विभागको केन्द्रीय टोलीसमेत यो ठाउँमा पुगेको थियो।

अविरल बर्सातका कारण साँफे मार्तडी सडकको बिचमा पर्ने बार्जुगाड ताँप्री सेरा बल्दे अम्कोट, पानीनाउँलालगायतका धेरै ठाउँको सडकमा पहिरो गएको छ। पहिरो पन्छ्याएर सडक मर्मत गर्न ठुलो बजेटको खाँचो छ। यसका लागि रकम नआएकाले मर्मत गर्न समस्या भएको सडक डिभिजन कार्यालय अछामका प्रमुख नेत्र देवकोटाले बताए।  उनले भने, ‘यो कार्यालयमा प्रायः धेरै कार्यालय प्रमुख नै बस्न मान्दैनन्। उनीहरू केही दिनयता आउने र त्यसपछि तुरुन्तै अर्को ठाउँमा जाने गर्छन्। पाँच जना इन्जिनियरको कोटा भएको यहाँ अहिले म एक मात्र छु।’ 

गत वर्षमा साँफे–मार्तडी सडकको आवधिक मर्मतका लागि केही रकम आएकाले यतिबेला त्यो रकमले झन्डै १६ किलोमिटर त्यो सडकको आवधिक मर्मत गर्ने काम भएको प्रमुख देवकोटाले बताए। 
 

कमेन्ट लोड गर्नुस