सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री ओलीलाई माओवादी केन्द्रको ध्यानाकर्षणपत्र

२०८१ असोज २०, ०६:४८ खबर संवाददाता

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले बाढीपहिरो र डुबानका कारण उत्पन्न जोखिम न्यूनिकरणका लागि ध्यानाकर्षणपत्र बुझाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतवार माओवादी केन्द्रका नेताहरूले प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाएका हुन्। बाढीपहिरो, डुबानका कारण उत्पन्न जोखिमलाई न्यूनीकरण र घटनालगत्तै खोज, उद्धार र राहतका कामलाई व्यवस्थित गर्न माओवादी केन्द्रले सरकारको ध्यानाकर्षण गराएको हो।

माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सहितको टोलीले प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाएको हो। श्रेष्ठले विपद्पूर्व तयारीका काम र विपद्पछि तत्काल खोज, उद्धार र राहतका काममा लाग्न आग्रह गर्दै यसका लागि सम्बन्धित निकाय र सबै पक्षले साझा दायित्व सम्झिनुपर्ने बताएका थिए।

विपद व्यवस्थापनका काममा राज्यसँग मिलेर काम गर्न प्रमुख प्रतिपक्षी दल तयार रहेको श्रेष्ठले बताएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउन माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटा, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवहरू वर्षामान पुन, जनार्दन शर्मा, पम्फा भुसाललगायत नेता सिंहदरबार पुगेका थिए।
 

कमेन्ट लोड गर्नुस