सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङको बित्थडचिर गाउँपालिका उपाध्यक्षलाई फोहोर उपहार 

२०८१ असोज १६, ०६:५८ खबर संवाददाता

बझाङः  बझाङको बित्थडचिर गाउँपालिकाका उपाध्यक्षलाई फोहर उपहार दिइएको छ। पालिकालाई सफाइ राख्न प्रतीकात्मक रुपमा फोहर दिइएको हो। नेपाल रेड क्रस सोसाइटीद्वारा संचालित ‘परिवर्तक’(द चेन्ज मेकर) अभियान अन्तर्गत बित्थडचिर गाउँपालिका–९ को सुनकुडा बजारमा सरसफाई अभियान गरिएको छ।

कार्यक्रमको उद्घाटन गर्दै सुनकुडा नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक मदनबहादुर बमले सरसफाई अभियानले विद्यार्थीहरूमा जनचेतना फैलाउने र वातावरणीय प्रदूषण घटाउने महत्तवपूर्ण भूमिका खेल्ने बताए। उनले जलवायु परिवर्तनका कारण उत्पन्न समस्याहरूलाई न्यूनीकरण गर्न यस्ता कार्यक्रमहरू विशेष महत्तवपूर्ण रहेको औंल्याए।

बित्थडचिर गाउँपालिका–९ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता हरिचन्द्र जोशीले अभियानले समाज सुधार र वातावरणीय संरक्षणको नयाँ चरणको थालनी गरेको बताउँदै, सरसफाईले मात्र होइन, जलवायु परिवर्तनको प्रभावलाई पनि सम्बोधन गर्नुपर्छ भन्ने सन्देश दिएका थिए।

बित्थडचिर गाउँपालिका उपाध्यक्ष धनलक्ष्मी मल्लले यो अभियानले गाउँपालिकाको ध्यानाकर्षण गराएको बताउँदै, फोहोर व्यवस्थापनलाई स्थानीय सरकारको प्राथमिकतामा राखिने कुरा बताइन्। साथै, जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्न र वातावरणीय सन्तुलन कायम गर्न फोहोर व्यवस्थापनको महत्तवमा जोड दिइन्। उनले गाउँपालिकाले फोहोर व्यवस्थापनको लागि ठोस कदम चाल्न सबैसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता समेत जनाइन्।

अभियानका अभियन्ता कपिल बिष्टले बित्थड चिर गाउँपालिकाले हालसम्म फोहोर व्यवस्थापनका लागि आवश्यक कदम नचालेको उल्लेख गर्दै, बजारमा उठ्ने फोहोर व्यवस्थापनका लागि डम्पिङ साइटको तत्काल व्यवस्था गर्नुपर्ने कुरामा जोड दिए। उनले बजार सरसफाईबाट सङ्कलित फोहोरलाई प्रतीकात्मक रूपमा गाउँपालिका उपाध्यक्षलाई हस्तान्तरण गर्दै स्थानीय सरकारलाई सचेत गराएका थिए।

आइएफआरसीको आर्थिक सहयोगमा उक्त कार्यक्रम गरिएको हो। उक्त कार्यक्रममा सुनकुडा नमुना माध्यमिक विद्यालय, डुम्राकोट प्रगतिशील समाज, र बित्थडचिर गाउँपालिका–९ को सहकार्यमा गरिएको हो। सरसफाई कार्यक्रममा विद्यार्थी, स्थानीय व्यापारी लगाएतको सहभागिता रहेको थियो।
 

कमेन्ट लोड गर्नुस