सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालमा महिनाको एक दिन क्यान्सरका बिरामीको शल्यक्रिया हुने

२०८१ असोज १६, ०९:५९ कमल सावद

धनगढी : सेती प्रादेशिक अस्पताल सुदूरपश्चिम प्रदेशको रेफरल अस्पताल हो। सेतीबाट दैनिक एक हजार दुई सय बिरामीले उपचार सेवा लिने गरेका छन्।

सेती अस्पतालमा उपचारका लागि आउने बिरामीहरूमा क्यान्सरका बिरामीको सङ्ख्या पनि धेरै हुने गरेको छ। फोक्सोको क्यान्सर, रगतको क्यान्सर, पेटको क्यान्सर र पाठेघरको मुखको क्यान्सरको सेती प्रादेशिक अस्पतालका चिकित्सकहरूले पत्ता लगाउने गरेका छन्। क्यान्सरका जटिल प्रकृतिका बिरामीहरुलाई मात्र विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल पठाउने गरिएको थियो।

अब, विपी कोइराला क्यान्सर अस्पतालका विशेषज्ञ चिकित्सकहरू सेती प्रादेशिक अस्पतालमा आएर बिरामीहरूको शल्यक्रिया गर्ने भएका छन्। सेती प्रादेशिक अस्पतालका मेसु डाक्टर शेरबहादुर कमरले सेतीमा क्यान्सरको बिरामीको सङ्ख्या बढ्दै गएका बताए। उनले भने, ‘हामीसँग पूर्ण क्यान्सरका बिरामीको तथ्याङ्क छैन। नसर्ने रोगहरूमा क्यान्सर बढ्दै गएको छ। वातावरण, खानपिन, जीवनशैलीदेखि विभिन्न कारणले क्यान्सरका बिरामी बढ्ने गरेका हुन।’

विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका चिकित्सकहरूले महिनाको एक दिन धनगढीमा क्यान्सरका बिरामीहरूको परीक्षण, उपचार तथा शल्यक्रिया गर्ने भएका छन्। जटिल प्रकृतिका बिरामीहरूलाई विपी कोइराला क्यान्सर अस्पताल बोलाइने र सामान्य बिरामीहरूको भने सेतीमै उपचार हुनेछ। सेती प्रादेशिक अस्पतालको तालिका अनुसार विशेषज्ञ चिकित्सकहरूले सेतीबाट नै शल्यक्रियासहितको उपचार सेवा दिने भएका हुन्। विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका उप–निर्देशक युरोलोजिस्ट डाक्टर उमेश नेपालले नियमित हुने बताए। उनले भने, ‘अध्यक्ष र मेसुसँग सल्लाह गर्ने हो। सामान्य शल्यक्रिया यता हुन्छ। जटिल प्रकृतिका बिरामी मात्र उता लैजाने छौ।’

सेतीमा महिनाको एक दिन विपी कोइराला क्यान्सर अस्पतालका चिकित्सकहरूबाट क्यान्सरको परीक्षण, उपचार तथा शल्यक्रिया गरिने भएको हो। यूरोलोजिस्ट सम्बन्धी, सर्जिकल सम्बन्धी, अङ्कोलोजी, मेडिकल अङ्कोलोजी, आइने सम्बन्धी, पाठेघरको मुखको क्यान्सर (भिआइए) जाँच र नाँक, कान, घाँटीको विशेषज्ञ सेती प्रादेशिक अस्पतालमा आउने भएका छन्।

क्यान्सरका सम्भावित बिरामीहरूको परीक्षण सेती अस्पतालमा हुँदै आएको छ। क्यान्सरको शँका लागेका बिरामीहरूलाई भने विपी कोइराला क्यान्सर अस्पताल पठाइने गरिएको थियो।

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस