सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुन चाल्दै आएका सोनाहा अब निकाल्नेछन् माछा, बदलिए वादी पनि

२०८१ असोज ६, ११:५३ अनिता चौधरी

धनगढीः कैलाशदेखि गंगासम्म फैलिएको कर्णाली नदीसँग चिसो सुस्केरा मात्र छैन। त्यसको बालुवामा सुनका कणसमेत भेटिन्छ। त्यही सुनमा आश्रित छ, कैलालीका सोनाहा जाति।

नदी तटमा मिहिनेतले भेटिने सुनका कणसँग यो जातिको पुस्तैनी परिचय गाँसिएको छ। र त, दस नंग्रा खियाउँदै सोनाहाहरू बालुवाका पत्रपत्र उधिन्छन्। बगर खोतलेर भित्री तहसम्मको बालुवा खोस्रन्छन्। त्यसलाई चालेर सुनका कण पहिल्याउँछन्। जीवनलाई निर्निमेष अगाडि बढाउँछन्।
हो, यही दुःखका पुस्तैनी गर्तमा छन्, सोनाहा समुदाय
यस जातिका महिलाहरूको मुख्य पेशा नदीका बालुवाका कणकणमा सुन ठम्याउनु र त्यही बेचबिखन गरेर घरको गर्जो टार्नु हो। पुरूषहरू भने नदीमा माछा मारेर र डुंगा हेलेर जीवनको अभावलाई पन्छाइरहेका हुन्छन्। सोनाहा जातिको पुस्तैनी दर्दलाई पछिल्लो पुस्ताले अँगाल्न थालेको व्यवसायिकताले केही सुगम तुल्याइदिएको छ।

कैलालीको लम्कीचुहा नगरपालिकामा अमेरिकी सहयोग नियोग युएसएआइडीको तयार नेपाल परियोजना आएपछि सोनाहा जातिको दैनिकी फेरिएको हो ।दैनिकी मात्र होइन, उनीहरूको आर्थिक अवस्थामा पनि आनका तान भिन्नता आएको छ। तयार नेपालले उनीहरूले गरिआएको माछा मार्ने काममा व्यावसायिकता थपिदिएपछि उनीहरूको जीवनमा पहारिलो घाम लागेको छ।

लम्कीचुहा नगरपालिका–३ बल्चौरका सोनाहा समुदायलाई तयार नेपाल परियोजनाले माछापालनसम्बन्धी प्रशिक्षण दियो। जसले उनीहरूको पुस्तैनी कर्मलाई आधुनिक बाटो देखाउन मद्दत गर्‍यो। परियोजनाको सानै प्रयासले दुःखको गर्तबाट बाहिर ल्याउन मद्दत गरेको स्थानीय रामचन्नी सोनाहा बताउँछिन्। उनी त्यसै समुदायको एकीकृत माछापालन समूहकी अध्यक्षसमेत हुन्। ‘हाम्रो समुदायको पेशा भनेकै नदीको बगरबगर डुल्ने।

रह—दह पस्ने र माछा मार्ने हो। माछा पालेर व्यवसाय गर्न सकिन्छ भन्ने नै थाहा थिएन। त्यो ज्ञान हामीलाई कसले दिन्थ्यो!,’ रामचन्नीले भनिन्, ‘तयार नेपालले सोनाहा जातिले माछा त मार्ने गर्छन तर जोखिम धेरै छ भनेर सोही परियोजना मार्फत हामीलाई तालिम दियो। व्यावसायिक रूपमा माछा पालन गर्न सिकायो। यसले म मात्रै होइन, समुदायकै मानिस हर्षित् छन्।’

नगरपालिका र वडा कार्यालयमार्फत समन्वय गरी युएसएआइडीको तयार नेपाल परियोजनाले सोनाहा समुदायमा कार्यक्रम दिएपछि स्थानीय एकजुट भएर माछा पालनतर्फ आकर्षित भएको उनले सुनाइन्। परियोजनाको शत्प्रयासले पछाडि पारिएको र समाजको पिँधमा रहेको सोनाहा जातिको उत्थानमा नै सघाऊ पुगाएको उनले बताइन्।

‘हामीलाई तयार नेपालले सहयोग गरेपछिव्यवस्थित रूपमा पोखरी बनाएर तीन हजार माछा पालिरहेका छौं,’ उनले पुलकित हुँदै सुनाइन्, ‘जोखिम मोलेर नदीमा माछा मार्नुुभन्दा पोखरी बनाएर माछा पाल्न थालेपछि कमाइ पनि राम्रै हुँदो रहेछ। बजार नजिकै भएकाले बेच्न पनि गाह्रो छैन। उस्तै परे पोखरीमै माछा किन्न आउँछन्।’ धपक्कै बल्ने गर्मी र तुषारे ठिहीमा हात—गोडा खियाएर बालुवामा जोतिनुपर्थ्यो।

माछा पाल्न थालेदेखि यो दुःख घट्दै गएकोे छ। युएसएआइडीको तयार नेपाल परियोजना, युथ एलाइन्स फर इन्भारोमेन्टले २०८० असारदेखि माघ १५ गतेसम्म लम्कीचुहा नगरपालिकाका जोखिममा रहेका साना किसानहरूको आर्थिक उत्थानशीलता बलियो बनाउन वातावरणमैत्री एकीकृत मत्स्यपालन कार्यक्रम कार्यान्वयनमा ल्याएको थियो। युथ एलाइन्स फर इन्भारोन्मेन्टले कृषि प्राविधिकहरूलाई फिल्डमा खटाउनुअघि तीन दिनको प्रशिक्षक प्रशिक्षण कार्यक्रम समेत चलाएको परियोजनाका कृषिविज्ञ शैलेन्द्र श्रेष्ठले जानकारी दिए।

तालिम लिएर आफूहरू पोखरीमा माछा पालन गरिरहेको र माछाको हेरबिचारका अतिरिक्त पोखरीको डिलमा मौसमी तरकारी लगाएर दोहोरो आम्दानी गरिरहेको धनराज सोनाहाले बताए। ‘हाम्रो समूहमा अहिले १४ जना कृषक छौं। पालैपालो माछाको रेखदेख गर्छौं। धनराजले भने,‘पानी परिरहेका बेला माछा भाग्छन् कि भन्ने भय हुन्छ।’ उनले रेखदेख गरिरहेको पोखरीमा ग्रास, सिल्भरकार्प, रहु ग्रासकार्प, कमनकार्प, रहुनैनी गरी पाँच प्रजातिका माछा हुर्किरहेका छन्।

परियोजनाले लम्कीचुहा नगरपालिका–३ बल्चौरका सोनाहा समुदायका १४ जनालाई १ दिनको तालिम दिएको थियो। तालिमपश्चात् किसानको बारीमा जुनियर कृषि प्राविधिकहरू खटाएर प्राविधिक ज्ञान तथा सहयोगसमेत उपलब्ध गराएको थियो। किसानलाई मत्स्यपालन लागि पोखरी मर्मतसम्भार, माछाको भुरा र दाना निःशुल्क वितरण गरिएको थियो। पोखरीको डिल प्रयोग गरी थप आयआर्जनका लागि बङ्गुर पालन गर्ने प्रबन्धसमेत मिलाइएको  अध्यक्ष रामचन्नीले बताइन्। 

अब केही समयपछि नै बङ्गुल पालन थाल्ने सोच रहेको उनले बताईन्। बङ्गुर पालनका लागि उनीहरूले खोरकोसमेत बन्दोबस्त गरिसकेका छन्। ‘अब पाठा खरिद मात्र गर्न बाँकी छ। त्यसपछि हाम्रो आन्दानी पनि बढछ,’ उनले खुसी हुँदै सुनाइन्। तयार नेपाल परियोजना र रूपान्तरण नेपाल संस्थाको साझेदारीमा २०२४ अप्रिल १५ देखि अगष्ट महिनासम्मका लागि लम्कीचुहा नगरपालिकाका अति जोखिममा रहेका साना किसानहरूको आर्थिक उत्थानशीलता अभिवृद्धिमा टेवा पु¥याउन वातावरणमैत्री एकीकृत मत्स्यपालन कार्यक्रम कार्यान्वयन गरिएको हो।

कैलालीको लम्कीचुहा नगरपालिका–३ बल्चौरमा रहेको मुक्त कमैया शिविरमा लोपोन्मुख सोनाहा जाति बस्छन्। कर्णाली नदीमा बालुवा चाल्ने र रह—दह चहारेर माछा मार्दै घरको चुल्हो जगाउँदै आएका विपन्न सोनाहा समुदायलाई यस परियोजनाले सुखसँग चिनापर्ची गराएको रामचन्नीले बताइन्। यस परियोजनाबाट १४ घरपरिवार सोनाहा प्रत्यक्ष लाभान्वित छन्। मुलुकभर एक हजार एक सय ८२ मात्र जनसङ्ख्या रहेको सोनाह जाति नेपालको कैलाली, कञ्चनपुर र बर्दिया जिल्लामा बसोबास गर्दै आएका छन्। बल्चौरमा हाल १४ घर परिवारले बसोबास गर्दै आएको भए पनि आफू सबैभन्दा अप्ठेरो अवस्थामा रहेको पद्मा सोनाहाले बताइन्।

उनका छोराछोरी पढाइमा तीक्ष्ण छन्। तर श्रीमान्को अत्तोपत्तो छैन। दस वर्षदेखि हराइरहेका श्रीमान् टुप्लुक्क आउँछन् कि भनेर उनको रात अनिदै बित्छ। श्रीमान् सम्पर्कविहीन भएपछि छोराछोरीलाई बाटो देखाउने जिम्मा आफ्नै थाप्लामा छ। तयार नेपाल परियोजना गाउँ भित्रिएपछि राहतको सास फेरेको उनले सुनाइन्। बल्चौरमा सामुदायिक विद्यालय छ। अरू समुदायका बालबालिका विद्यालय जान्छन्।

गाउँको साक्षरताको स्तर उकास्न विद्यालयले टेवा पुगाएको छ। तर सोनाहा समुदायमा शिक्षाको न्यानो घाम आइपुगिसकेको छैन। बल्चौरका १४ घरधुरीमा जम्मा दुई जनाले मात्र १२ कक्षा उत्तीर्ण गरेका छन्। ‘अहिले बिस्तारै बालबालिका विद्यालय जान थालेका छन्। आम्दानी बढ्न थालेपछि मात्रै विद्यालय पठाउनुपर्छ भन्ने चेतना आउँदोरहेछ,’ पद्माले सुनाइन्। त्यस क्षेत्रका सोनाहा जातिको इतिहास लामो छैन। उनीहरू २०५० सालदेखि त्यस ठाउँमा बसोबास गर्दैै आएका हुन्। बल्चौरका सोनाहा जातिलाई संघीय सहरी विकास मन्त्रालयले घर बनाउन प्रतिघरधुरी २ लाख १५ हजार रुपैयाँ उपलब्ध गराएको अध्यक्ष रामचन्नीले बताइन्।

तर रामचन्नी र दुई जना अरू परिवारले सरकारले उपलब्ध गराउने भनेको उक्त रकम पाएका छैनन्। ‘जम्मा ११ घरधुरीले पाए। हाम्रो के प्रक्रिया मिलेन, पैसा निकासा भएको छैन। सरकारले दिने भनेको सहयोग दिए त हामीले पनि पक्की घर बनाउन सक्थ्यौं कि,’ उनले भनिन्। २०७२ मंसिर १६ गते सर्वोच्च अदालतले सोनाहा जातिलाई लोपोन्मुख आदिवासी जनजातिको रूपमा सूचीकृत गर्न आदेश दिएको थियो। त्यही आदेशमा सामाजिक सुरक्षा भत्ता समेत दिन सरकारलाई निर्देशन दिएको भए पनि कार्यान्वयन भएको छैन। सोनाहा समुदाय अदालतको आदेश कार्यान्वनयका लागि पनि संघर्ष गरिरहेको रामचन्नीले बताइन।

सोनाहा जातिको पेशा र जीवन संकटापन्न अवस्थामा पुगे पनि त्यसलाई जोगाउन कोहीपनि अग्रसर नभएको अवस्थामा लम्कीचुहा नगरपालिका र तयार नेपाल परियोजना आइपुगेको स्थानीय जुना सोनाहाले बताइन्। नदीमा आफ्नो समुदायको पकड घट्दै गएको भन्दै उनले चिन्ता गरिन्। यहाँका वादी समुदायपनि आफ्नो अस्तित्वका लागि संघर्षरत छन्। समाजको पिँधमा रहेर सीमान्त जीवन बाँचिरहेको यो समुदायलाई राज्यले वास्ता नगरेको गुनासो छ। वर्षौंदेखि आर्थिक, सामाजिक, शैक्षिक, सांस्कृतिक तथा राजनीतिक रूपमा उत्पीडनमा परेको अल्पसङ्ख्यक वादी समुदायले पहिचानको लडाइँ बाँकी नै रहेको बताउँछ। वादी समुदायका महिलाले आफ्नो सम्मानजनक पहिचान र समान अधिकारका लागि पटकपटक संघर्षगर्दै आएका पनि छन्।
तर, राज्यले देखे पो!
लम्कीचुहा नगरपालिका र तयार नेपालले यो समुदायको उत्थानमा पनि इँटा थपेको छ। युएसएआइडीको तयार नेपाल परियोजना आएर आफूलाई सीप सिकाएर आम्दानीको स्रोत स्थापना गरेको आगमन महिला अचार उद्योगको अध्यक्ष गीता वादीले बताइन्। ‘पहिला हामीहरू घरको काम गथ्र्यौं। आम्दानीको बाटो केही थिएन। ज्याला—मजदुरी गरेर बिहान—बेलुकाको छाक टाथ्र्यौं,’ उनले भनिन्, ‘स्थानीय स्तरमा उत्पादित वस्तुलाई सदुपयोग गर्दै अहिले व्यवस्थित रूपमा उपयोग गर्ने सीप सिकेकामा गर्व महसुस हुन्छ।’ उनीहरूलाई परियोजनालेतीन दिने अचार बनाउने तालिम दिएको थियो। त्यस्तै थप दुई दिनको व्यवसायलाई कसरी पूर्ण बनाउने भनेर पनि तालिम दिएको थियो।

उक्त पाँच दिनको तालिमले जीवनस्तर नै परिवर्तन गरेको गीताले बताइन्। परियोजनाले बाटो देखाएपछि वादी समुदायका ८ जना र गैरवादी ४ जना गरी जम्मा १२ जनाले उद्योगको स्थापना गरेका छन्। ‘तालिम लिँदा हामी १४ जना थियौं। तालिमलाई व्यवसायमा बदल्ने बेलामा हामी १२ जना मात्रै भए पनि सक्रिय भएर अचार उत्पादनमा लागेका छौं। ’बजार खोज्नुपर्ने झन्झट छैन। परियोजनाले नै सघाएको छ। तर व्यवसायमा बढोत्तरी ल्याउन अचारको भाँडो सिलप्याक गर्ने मेसिनको खाँचो परेको छ। अस्मिता वादीले भनिन्।

आधुनिक नेपालमा प्रजातन्त्र पुनर्वहाली भएयताका विभिन्न कालखण्डमा वादी महिलाको समाजका कुनै स्थान थिएन। विभेद र अपमान मात्रै उनीहरूको भागमा परेको थियो। त्यसैको प्रतिरोधमा उनीहरूले विभिन्न चरणमा सरकारको ध्यानाकर्षण गर्ने गरी आन्दोलन गरे। सिंहदरबारको गेटैमा पनि प्रदर्शन गरेका थियो। तथापि यो समुदायले सम्मानजनक जीवन बाँच्न पाएको छैन। वादी समूदायका अधिकांश मानिसहरूसँग आफ्नो नाममा जमिन छैन। अहिले पनि ऐलानी जग्गामा स्याउलाले छाएको छाप्रो बनाएर ओत लाग्नुपर्ने अवस्था छ।

वादी समुदाय शिक्षा, सरकारी सेवा, सुविधाबाट कोशौं टाढा छ। यस समुदायबाट अहिलेसम्म १५ जना स्नातक छन्। त्यसमध्ये ४ जना रोजगारीमा पनि संलग्न छन्। तर सरकारी नोकरीको पहुँचमा भने पुग्न नसकेको कल्पना वादीले बताइन्। उनीहरु मौसम रुपमा रोजगारीका लागि भारत तिर जाने गर्दथे। ‘भारतमा बच्चासहित काम गर्न जानाले बालबालिकको शिक्षासमेत प्रभावित भएको छ,’ कल्पनाले भनिन्। सोनाहा र वादी समुदायको जीवन संकटापन्न अवस्थामा पुगेका बेला नगरपालिका र तयार नेपाल परियोजनाले उनीहरूलाई आयआर्जनको बाटो देखाइदिएको भन्दै लम्कीचुहानगरपालिका–३ का अध्यक्ष लवबहादुर शाहीले खुसी व्यक्त गरे।

परियोजनाको प्रयासलाई समृद्ध तुल्याउन आफूले पनि सक्दो सहयोग गर्ने उनले वचन दिए। थारूसमुदायसँग मिल्दो देखिए पनि सोनाहाहरू आफ्नै भाषा, संस्कृति, रहनसहनमा बाँचिरहेका छन्। उनीहरू गाँस बाससँगै आफ्नो पहिचान जोगाउन संघर्ष गरिरहेका बेला यस परियोजनाले भरथेग गरेको भन्दै लम्कीचुहा नगरपालिकाकी उपप्रमुख जुना चौधरीले खुसी व्यक्त गरिन्। ‘समुदायको विकासका लागि आम्दानी मुख्य कुरा हो। युएसएआइडीको तयार नेपाल परियोजनाले हाम्रो पालिकाका सीमान्त सोनाहा र वादी समुदायमा जुन लगानी गरेको छ।

त्यसको प्रतिफल नगरपालिकाले पनि प्राप्त गर्छ,’ उनले भनिन्, ‘यो धेरै उपयोगी र सराहनीय भएकाले उपप्रमुखको हैसियतले मैले पनि सक्दो सघाउँदै आएको छु।’ यस क्षेत्रमा बसोबास गर्ने कम आय भएका सीमान्तकृत गरिब तथा विपन्न समुदायको आम्दानी र जीविकोपार्जनमा वृद्धि गरी दिगो उद्यमशीलताका लागि कृषक समूह तथा नगरपालिका लगायत अन्य सरोकारवालासँगको समन्वयले कार्यक्रमलाई दिगो बनाएर निरन्तर सञ्चालन गर्न सहयोग मिलेको युएसएआइडीको तयार नेपाल परियोजनाका संयोजक प्रेमलाल कुश्मी डगौराले जानकारी दिए।

यस परियोजनाको सहयोगमा एकीकृत माछापालन कार्यक्रममा आबद्ध साना किसानहरूको समग्र बजार व्यस्थित गरी मूल्य शृङ्खलालाई सुदृढ बनाउने उद्देश्यले लम्कीचुहा नगरपालिकामा सहभागितामूलक बजार प्रणाली विकास दृष्टिकोण प्रबद्र्धन गरिएको डगौराले जानकारी दिए। नगरपालिकामा उत्पादित माछाको बजारीकरणका लागि सहज बनाउन र बिचौलियाबाट मुक्त राख्नका लागि नगरपालिकाअन्र्तगत जिउँदो माछा मार्केटिङआउटलेट निमार्ण भएको छ।

यसबाट साना माछा उत्पादकको बजारमा सिधा पहुँच भएको छ। स्मार्ट कृषि नामक डिजिटल प्लेटर्फमले नगरपालिकामा जलवायुपरिवर्तन अनुकूल तरकारी खेती र एकीकृत माछापालन कार्यक्रममा आबद्ध साना किसानलाई उन्नत प्रविधिहरू, बजार मूल्य, मल, बीउबिजनबारे जानकारी लिन सघाऊ पुगेको छ। जसबाट उन्नत कृषि गर्न र उत्पादनको उचित मूल्य पाउन सहयोग गरेको नगरपालिकाको कृषि शाखा प्रमुख विक्रम चौधरीले बताए। कृषिकार्यमा असर पार्ने सम्भवित जोखिमबारे एसएमएसमार्फत किसानलाई जानकारी दिने भएकाले किसानले समयमै सर्तकता अपनाउन सक्ने वातावरण तयार भएको उनले बताए।

अनिता चौधरी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस