सुदूर नेपाललाई विश्वसँग जोड्दै

तीन दिनदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध

२०८१ भदौ ३०, ०४:१६ खबर संवाददाता

बझाङः बझाङमा पर्ने जयपृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध भएको छ।

बिहीवारदेखि निरन्तर आएको वर्षाले छविसपाथिभेरा गाउँपालिकाको बालुवाटार नजिकै पहिरो आउँदा सडक अवरुद्ध भएको हो। शुक्रवार साँझदेखि आएको पहिरोले कैलाली, कञ्चनपुर जाने र आउने सबै सवारीसाधन रोकिँदा यात्रु अलपत्र परेका छन्। पहिरो निरन्तर आइरहेकाले पहिरो पन्छाएर सडक सञ्चालन गर्न नसकिएको सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले बताए।

उनले केदारस्यूँ गाउँपालिका र जयपृथ्वी नगरपालिकाको जेसीबी पहिरो पन्छ्याउन तयारी अवस्थामा राखे पनि पहिरो झर्ने क्रम नरोकिएकाले सडक सञ्चालन नभएको बताइन्। सहायक प्रजिअ जोशीका अनुसार शनिवार बिहानैदेखि अहिलेसम्म पहिरो पन्छाउनका लागि दुईवटा जेसीबी पहिरो गएका स्थान नजिक राखिएका छन्।

‘माथिबाट पानीसहितको लेदो आइरहेकाले शनिवार दिनभर सञ्चालन गर्न सकिएन। पहिरो रोकिएपछि मात्रै सडक खुलाउने प्रयास गर्नेछौं,’ उनले भनिन्। शुक्रवार कैलाली तथा कञ्चनपुरबाट आएका यात्रु सामान बोकेर स्थानीय जिपमा गन्तव्यतिर गएका छन् भने बझाङबाट तराई छिर्ने सवारीका यात्रु परिङाल नजिकै पर्ने बालुवाटारमा रोकिएका दुर्गाथली गाउँपालिकाका स्थानीय विक्रम जाग्रीले बताए। गत साता पनि छविसपाथिभेरा गाउँपालिकाको तमैल बजार नजिकै पहिरो आएर दुई दिनसम्म सडक अवरुद्ध भएको थियो। –रासस

कमेन्ट लोड गर्नुस