सुदूर नेपाललाई विश्वसँग जोड्दै

सम्झनामा असार

२०७६ असार १, ०७:११

हे ! काले, धउले, तिले र कपरा, फुर्के, तिखे, झाल्लरे ।
हाम्रो पेट निमित्त जोतिन पुग्यौ, सम्मान तिम्रो गरें ।
तिर्छौ जीवनमा खुरुक्क 'नुनको, सोझो' भएरै ऋण ।
मान्छेमा बरु भाव शून्य हुन गो, खाएर तिर्ने गुण ।।

जोत्दा खेत रमाइला समयका, छन् सम्झना झल्झली।
मौनो ओडि हिलाम्य खेत थलमा खान्थ्यौं सधैं पोटली ।
चोतो साग, भुजो र आलु, लिउडो, उन्माद मीठाहरू।
पाक्लान् लाउन बाबरै र हलुवा, टाढा भए के गरूँ ।।

बैजू देवरबीच खेलन हिलो, ठट्टा चलेको छ कि ?
ठट्टामै अति भै कतै हृदयमा, आगो जलेको छ कि ?
कस्तो मीष्ठ कला, अचम्म झगडा, आत्मीयता प्रीतको ।
माया लाग्दछ डेउडा वचनको, घन्काउने गीतको ।।

खेती गर्न बुवा निरन्तर जुटे, सोच्दै नयाँ योजना ।
थप्दै जीवनमा चिटिक्क इचला, सौन्दर्यको चेतना ।।
ए ! भैया, कसुले विचार गर है, चाहिन्छ पानी कति ?
लाऊ ज्ञान विवेक, ध्यान श्रममा, तिम्रो जवानी जति ।।

रोप्दारी पदमा दिदी र बहिनी, काकी बियारी बनून् ।
पेशा उत्तम हो, सगौरव सधैं, मेरी पियारी भनून् ।।
आमा सिद्धि सुनाउदै र फुरुडी, बांड्दै रहून् खेतमा ।
ल्याऊन् हर्ष, असार सार रहदा, मंसीरमा सिर्जना।

रोप्छन् सार, असार, हार गहना, छोप्छन् धराका गरा ।
मेरो सान,किसान दान, पसिना गर्छन् र पार्छन् हरा ।।
पैंचो पर्म र कर्म-मर्मतिरको, लाई मितेरी-मित ।
कामैभित्र तमाम राम रहदा, उल्लास सञ्चारित ।

भोको पेट अघाउने र मनमा सन्तोष सिर्जाउने ।
फल्छन् अन्न र धन्न टन्न प्रतिभा बांच्ने कला पाउने ।।
नेता, हाकिम, देशका सब बुझून्, खोली दुबै लोचन ।
धानै रोप्नु रुपाइमात्र नभई, हो प्राणको रोपण ।।

छन्दः शार्दूलविक्रीडित
तीर्थराज भट्ट, डोटी जोरायल
हाल : धनगढी

कमेन्ट लोड गर्नुस