हरिवंश र प्रकाशको प्रमुख भूमिकामा फिल्म ‘हरिबहादुरको जुत्ता’ बन्ने
काठमाडौंः अभिनेता हरिवंश आचार्य र प्रकाश सपुतको मुख्य भूमिका रहनेगरी फिल्म ‘हरिबहादुरको जुत्ता’ निर्माण हुने भएको छ।
फिल्मलाई निर्देशक दिपेन्द्र के खनालले निर्देशन गर्ने भएका छन्। गायक तथा म्युजिक भिडियो निर्माता सरोज ओलीले यो फिल्म निर्माण गर्न लागेका हुन्। ओलीले बुधवार चलचित्र विकास बोर्डमा यो नाममा फिल्म दर्ता गराउँदै निर्माण इजाजतसमेत लिएका छन्।
फिल्मको पटकथा तथा संवाद हरिवंशले लेखेका छन्। ‘मेरो मनमा एउटा कन्सेप्ट फुरिरहेको थियो ,’ अभिनेता तथा लेखक हरिवंशले भने, ‘सरोज ओली भाईलाई सुनाएपछि यसमा म आफै फिल्म बनाउँछु भनेर उनी हौसिए। त्यसपछि फिल्मको लिड रोलमा पनि मलाई नै अनुबन्धित गरे। आइडिया युनिक छ, फिल्म राम्रो बन्छ भन्नेमा म विश्वस्त छु।
फिल्म निर्माणमा भने ओली पहिलोपटक होमिएका हुन्। ‘करिब २५ वर्षदेखि कला क्षेत्रमा लागिरहेको थिएँ तर फिल्म निर्माणको साइत जुरेको थिएन,’ ओलीले भने, ‘राम्रो कथा पाएँ भने फिल्म निर्माण गर्छु भन्ने तयारीमै थिएँ। यत्तिकैमा हरिवंश दाईले हरिबहादुर जुत्ताको कन्सेप्ट सुनाउनुभयो। सुन्नेवित्तिकै मनप¥यो। त्यसपछि उहाँको कन्सेप्टमा फिल्म निर्माण गर्न म तयार भएको हुँ।’