कैलाली भन्सार कार्यालयका प्रमुख हमाल सुर्ती तस्करी गर्ने कर्मचारी जोगाउदै
धनगढी: कैलाली भन्सार कार्यालय सुर्ती र बिडी तस्करी गर्ने कर्मचारी जोगाउन लागि परेको छ। कैलाली भन्सार कार्यालयका प्रमुख, प्रमुख भन्सार अधिकृत राजेन्द्रकुमार हमाल चार सय ६५ पाकेट सुर्ती र बिडी तस्करी गर्ने कर्मचारीलाई जोगाउन लागि परेका हुन्।
तस्करी रोक्ने निकाय आफै तस्करीमा लागेको विषय गत असार १६ गते सार्वजनिक भएको थियोे। तर, घटनाको २ महिना पूरा हुँदा पनि तस्करीमा सङ्लन्न कर्मचारीको विषय आधिकारिक रूपमा भन्सार कार्यालयको धारणा सार्वजनिक भएको छैन।
राजस्व चुहावट र भन्सार छली रोक्न सक्रिय हुनुपर्ने निकाय कैलाली भन्सार कार्यालय आफै तस्करीमा संलग्न रहेको विषय प्रमुख भन्सार अधिकृत हमालले लुकाउन खोजेका हुन्। २०८१ असार १५ गते शनिवार भन्सार कार्यालयमा कपडाभित्र लुकाएर सुर्ती तथा बिडी तस्करी हुने गरिएको तथ्य फेला परेको थियो। कैलाली भन्सारले लिलाम गरेका कपडाभित्र सुर्तीजन्य पदार्थ फेला परेपछि भन्सार कार्यालयका कर्मचारीबाटै तस्करी हुने गरेको तथ्य छताछुल्ल भएको हो। तर, कैलाली भन्सार कार्यालयका प्रमुख हमालले सो विषयमा हालसम्म कुनै प्रतिकृया दिएका छैनन। कैलाली भन्सार कार्यालयका प्रमुख राजेन्द्रकुमार हमाललाई बुधवार पनि सुर्ती तस्करीको विषयमा प्रतिक्रिया दिन मानेनन। कर्मचारीमाथिको कारबाहीको प्रक्रियाको विषयमा प्रश्न गर्दा उनले सो विषयमा प्रतिक्रिया नदिने बताएका हुन्। तर, भन्सार स्रोतले करार सेवाका कर्मचारीहरू नृप भण्डारी र गोपाल चौधरीलाई सो घटनामा निलम्बन गरिएको बताएको छ। कार्यालय प्रमुख सहति अन्य कर्मचारीहरूलाई जोगाइएकाे हो।
कार्यालयका सबै प्रशासनिक कार्यहरू बन्द रहेका बेला शनिवार सुर्तीजन्य बस्तु भन्सारका कर्मचारीहरूले तस्करी गरेका थिए। उनीहरूले धनगढीकै एउटा व्यापारीको फर्मको नाममा चार लाख ४० हजारमा लत्ताकपडा लिलामी सदर गरेका थिए। व्यापारीको फर्मको नाममा ८ वटा मुद्दाका छुट्टाछुट्टै सामानको लिलामी सदर भएको थियो। सदर भएका सामानमा सुट, कुर्ती, खेलौना, भाडा, उलन सर्ट लगायतका सामान थिए।
व्यापारीले दुईवटा अटोमा सामान लोड गरेर लग्दै गर्दा कैलाली भन्सार कार्यालयको एक सय मिटर उत्तरतर्फ रहेको सशस्त्र प्रहरीले कपडाभित्र लुकाएर सुर्तीजन्य पदार्थ तस्करी भएको तथ्य फेला परेको हो। जाँच टोलीले उक्त कपडाभित्र सुर्तीजन्य पदार्थ फेला पारेपछि भन्सार कार्यालयबाट तस्करी हुने गरेको विषय सार्वजनिक भएको थियो। अटोमा लोड गरिएका कपडाभित्र सुपरपावर सुर्ती २ सय पाकेट, २ सय ६५ पाकेट बिडी र सुइट सुपारी लुकाइएको थियो।
भन्सार छली गरेर आयात गर्न खोजिएको सुर्तीजन्य पदार्थ नष्ट गर्नुपर्ने कानुनी प्रावधान छ। भारत तथा तेस्रो मुलुकबाट सुर्तीजन्य पदार्थ आयात गर्न नपाउने व्यवस्था छ। तर, भन्सार कार्यालयले भने सुर्तीजन्य पदार्थको तस्करी गर्ने गरेको पाइएको हो। सशस्त्र प्रहरीले कपडाभित्र लुकाएर लैजान लागेको अवस्थामा बरामद गरेको सुर्तीजन्य पदार्थको वजार मूल्य करिब ६० हजार रहेको जनाएको छ।
भारतको पलिया लखिमपुर घर भएका बजरङ्ग ट्रेड एण्ड सप्लायर्सका सञ्चालक विशाल गुप्तालाई नियन्त्रणमा लिएको थियो। भन्सार कार्यालयले लिलाम गरेको कपडाभित्र सुर्तीजन्य पदार्थ फेला परेको विषयमा कैलाली भन्सार कार्यालयका प्रमुख राजेन्द्र हमालले हालसम्म कुनै प्रतिक्रिया दिन मानिरहेका छैनन। उनकोसमेत घटनामा सङ्गलनता रहेको भन्सार स्रोतको दाबी छ।
धनगढीमा भन्सार कर्मचारीबाटै तस्करी, लुकाइयो ४६५ पाकेट सुर्ती र बिडी