सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा भन्सार कर्मचारीबाटै तस्करी, लुकाइयो ४६५ पाकेट सुर्ती र बिडी

२०८१ असार १६, ०६:४६ नारायण अवस्थी

धनगढीः कैलालीको धनगढीमा तस्करी रोक्ने निकाय आफै तस्करीमा लागेको विषय बाहिर आएको छ।

राजस्व चुहावट र भन्सार छली रोक्न सक्रिय हुनुपर्ने निकाय कैलाली भन्सार कार्यालय आफै तस्करीमा संलग्न रहेको विषय बाहिर आएको हो। शनिबार भन्सार कार्यालयमा कपडाभित्र लुकाएर सुर्ती तथा बिडी तस्करी गरेको तथ्य फेला परेको छ। भन्सारले लिलाम गरेका कपडाभित्र सुर्तीजन्य पदार्थ फेला परेपछि भन्सार कार्यालयका कर्मचारीबाटै तस्करी हुने गरेको तथ्य छताछुल्ल भएको हो।

शनिवार कार्यालयका सबै प्रशासनिक कार्यहरु बन्द थिए। धनगढीकै एउटा व्यपारीको फर्मको नाममा चार लाख ४० हजारमा लत्ताकपडा लिलामी सदर भएको थियो। व्यापारीको फर्मको नाममा ८ वटा मुद्दाका छुट्टाछुट्टै सामानको लिलामी सदर भएको थियो। सदर भएका सामानमा सुट, कुर्ती, खेलौना, भाडा, उलन सर्ट लगायतका सामान थिए। 

व्यापारीले दुईवटा अटोमा सामान लोड गरेर लग्दै थिए। कैलाली भन्सार कार्यालयको एक सय मिटर उत्तरतर्फ रहेको शसस्त्र प्रहरीले सामान जाँच गर्दा कपडाभित्र लुकाएर सुर्तीजन्य पदार्थ तस्करी भएको तथ्य फेला परेको हो। जाचँ टोलीले उक्त कपडाभित्र सुर्तीजन्य पदार्थ फेला पारेको हो। अटोमा लोड गरिएका कपडाभित्र सुपरपावर सुर्ती २ सय पाकेट, २ सय ६५ पाकेट बिडी र सुइट सुपारी लुकाइएको थियो।

भन्सार छली गरेर आयात गर्न खोजिएको सुर्तीजन्य पदार्थ नष्ट गर्नुपर्ने कानुनी प्रवधान छ। भारत तथा तेस्रो मुलुकबाट सुर्तीजन्य पदार्थ आयात गर्न नपाउने व्यवस्था छ। तर भन्सार कार्यालयले भने सुर्तीजन्य पदार्थको तस्करी गर्ने गरेको पाइएको छ। सशस्त्र प्रहरीले कपडाभित्र लुकाएर लैजान लागेको अवस्थामा बरामद गरेको सुर्तीजन्य पदार्थको वजार मूल्य करिब ६० हजार रहेको जनाएको छ।

प्रहरीले भारतको पलिया लखिमपुर घर भएका बजरङ्ग ट्रेड एण्ड सप्लायर्सका सञ्चालक विशाल गुप्तालाई नियन्त्रणमा लिएको छ। भन्सार कार्यालयले लिलाम गरेको कपडाभित्र सुर्तीजन्य पदार्थ फेला परेको विषयमा कैलाली भन्सार कार्यालयका प्रमुख राजेन्द्र हमालले भने कुनै प्रतिक्रिया दिन मानेका छैनन्। उनी पछि बोल्ने भन्दै जिम्मेवारीबाट उम्कन खोजेका हुन्। उनले प्रहरीबाट मुद्दा कार्यालयमा आएपछि मात्रै बोल्ने दाबी गरेका छन्।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस