धनगढीमा कृष्ण जन्माष्टमी महा महोत्सव मनाइयो
धनगढी : कैलालीको धनगढीमा कृष्ण जन्माष्टमी महामहोत्सव मनाइएको छ। नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत सङ्घ (ईस्कोन नेपाल) धनगढी शाखाले सोमवार धनगढीमा महोत्सवको आयोजना गरेको हो।
धनगढी उपमहानगरपालिका–४ चटकपुरमा रहेको सैराई स्कवायरमा ऐतिहासिक श्री कृष्ण जन्माष्टमी महामहोत्सव कार्यक्रमको आयोजना गरिएको इस्कोन, धनगढीले बताएको छ। सोमवार दिउँसो २ बजेदेखि राति १२ बजेसम्म भजन कीर्तन, लीला प्रवचन, नाटक, नृत्य, दीपदान, महाअभिषेक र सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको हो। ईस्कोन नेपाल, धनगढी शाखाले एक वर्षमा ५० हजार पिलेट प्रसाद वितरणसमेत गरेको थियो।
ईस्कोन धनगढीले सुदूर पश्चिममा विभिन्न वैदिक संस्कृति तथा परम्पराको संरक्षण गर्न विभिन्न उत्सव, पर्व तथ दैनिक रूपमा आध्यात्मिक कार्यक्रमहरु गर्दै आइरहेको छ। धनगढी उपमहानगरपालिका–१६ रामपुरमा तीन सय गाईको संरक्षण, युवाहरूमा आध्यात्मिक ज्ञान वितरण, एक वर्षमा ५५ हजारलाई ध्यान र विद्यालयहरुमा नैतिक शिक्षा दिदै आएको छ।
पर्वहरू मनाउनु धर्म संस्कार तथा संस्कृतिको रक्षा गर्दै समाजमा सकारात्मक परिवर्तन तथा युवाहरूलाई विकृति विसंगतिबाट बचाउने तर्क गरिएको छ।