सुदूरपश्चिममा अठवाली सकेर विवाहित महिलाले लगाए ‘धुबधागो’
धनगढीः सुदूरपश्चिममा अहिले गौरा पर्वको रौनक थपिएको छ। महिलाहरूले शिव र पार्वतीको पुजा गर्दै मनाउने गौरामा पुरुषहरू समेत उत्तिकै सहभागी हुने गरेका छन्।
शिव र पार्वतीलाई गौरा र महेश्वरको रुपमा व्रतालु महिलाहरूले पञ्चबिरुडाले पुजा गर्छन्। बिरुडा पञ्चमीबाट सुरू भएको गौरामा सोमबार अठवाली गाथा गाएर धुबधागो धारण गरिएको छ। अठवालीको दिन विवाहित महिलाले गौरा महेश्वरको पुजा गर्दै धुबधागो लगाउने र आफन्तहरूलाई आशीर्वाद दिने चलन छ।
अठवाली गौराको मुख्य दिन
सोमवार गौरा पर्वको अठवाली मनाइएको हो। सप्तमीको दिन भित्याइएकी गौराको पञ्च बिरुडा र फूलप्रसादले अष्टमीको दिन देवगाथा गाउँदै पुजा अर्चना गरिन्छ। अठवालीमा शिव पार्वतीसहित अन्य देवी देवताको उत्पत्तिको गाथा गाउने गरिन्छ। अठवालीको अघिल्लो दिन अर्थात् सप्तमीको दिन सप्तमी धागो धारण गरेका व्रतालु महिलाहरूले नयाँ दुबधागो धारण गर्ने परम्परा रहेको धनगढी–५ तारानगरीकी जानकीदेवी बिष्ट उपाध्यायले बताइन्।
उनले अठवाली सकेर साँझ फल फट्काउने र त्यसपछि धुवधागो लगाउने चलन रहेको बताइन्। ‘हिजो सप्तमीमा गौरा भित्र्याएर अभिषेक हाल्ने र सप्तमी धागो लगाएर व्रत समापन हुन्छ। अष्टमीको दिनलाई अठवाली पनि भनिन्छ। यो दिन गौरा–महेश्वरलगायत अन्य देवीदेवताको उत्पत्तिको कथा गायन गरिन्छ’, उनले भनिन्, ‘अठवाली सकिएपछि गौरा पुजन गरिएका बिरुडा र फूलप्रसादले घरमा पति, सन्तान र अन्य नातेदारहरूको पुजन गर्दै आशीर्वाद दिने गरिन्छ। अठवाली गौराको प्रमुख दिन हो।’
जनैपूर्णिमादेखि नै सुरू हुन्छ गौराको रौनक
जनैपूर्णिमाको दिनदेखि नै गौराको रौनल सुरु हुने गर्छ। जनैपूर्णिमाको दिन ‘गोरेखलो’ छुने गरिन्छ। गोरेखलो छुने भनेको पहिलो पटक बाजागाजा बजाउँदै रातिको समयमा खेल लगाइन्छ। यो दिन देवगाथा गाउने र देवी देवताका धामी काप्ने गर्छन्। त्यसपछि दोस्रो दिनको राति गाउँका पुरुषहरूले खेल लगाउने गर्छन्।
यस्तो खेलमा विशेषगरि भगवान रामको चरित्र गाथा गाउने प्रचलन रहेको बैतडीको पुर्चौडी नगरपालिका–७ भने घर भई हाल धनगढी–१२ जुगेडा बस्दै आएका धर्मराज जोशीले बताए। उनले गोरेखलोमा खेल अर्थात् देवगाथा गाएर सुरू हुने गौरा पर्वमा त्यसपछिको पञ्चमीको दिन बिरुडा भिजाइने, सप्तमीको गौरा भित्र्याउने र अष्टमीको दिन अठवाली पारेर दुबधागो लगाउने परम्परा रहेको बताए।
पञ्चमीको दिन दलहन वस्तुको बिरुडा (चना, गहत, गुराँस, सानो केराउ, ठूलो केराउ) भिजाउने चलन छ। बिरुडालाई पञ्चाक्षरी शिवमन्त्रको प्रतीक मानिने गरिन्छ। बिरुडा भिजाएर सुरु हुने पर्वको दोस्रो दिन अर्थात षष्ठीका दिन गेंडागुडीलाई नजिकैको नदी, पोखरी वा धारामा धुने गरिन्छ। यो पर्वको धार्मिक र सामाजिक महत्व रहेकाले सुदूरपश्चिममा धुमधामसँग मनाइन्छ।
गौरा पर्वले लामो समयदेखि बिछोड भएकाबिच मिलन गराउने, आपसी भाइचाराको सम्बन्ध बढाउने, पतिपत्नीबिचको सम्बन्धलाई अझ प्रगाढ बनाउने शक्ति र सामर्थ्य शिव–पार्वतीले दिने विश्वास धनगढी–५ तारानगरकी भावना चैसिरको छ। उनले गौरा व्रतले परिवारमा शान्ति र सुव्यवस्था कायम हुने विश्वास रहेको बताइन्।
गौराको रौनक पहाडी जिल्लामा बढी
सुदूरपश्चिमका पहाडी जिल्लामा गौराको रौनक जनैपूर्णिमाको दिनदेखि नै सुरू हुन्छ। खलो छुने पूर्णिमाको दिनदेखि हरेक दोस्रो दिनको राति देवता र भगवानका गाथाहरू गाउने गरिन्छ। पञ्चमीदेखि भने उपवास नै बसेर गौरा सम्बन्धी अनुष्ठान गरिन्छ। गौरा पर्वको अष्टमीको दिन अर्थात् अठवाली झनै विशेष रुपमा मनाउने गरिन्छ।
अष्टमीको दिन नै गौराको मुख्य दिन हो। यो दिन अठवाली गाउने काम सम्पन्न भएपछि व्रतालु महिलाहरूले धुबधागो लगाउँछन्। अठवालीको दोस्रो दिनदेखि चैत, धुमारी, ढुस्को र डेउडा खेल खेलिने बैतडीको पाटन नगरपालिका–९ का सुरेन्द्र भण्डारीले बताए। उनले गौराको खेल चार/पाँच दिनसम्म लाग्ने बताए।
गौराले दिन्छ नयाँ लुगा किन्ने अवसर
सुदूरपश्चिमको बैतडी, दार्चुला, डडेल्धुरा तथा बझाङ र डोटीका केही पालिकामा गौरा धुमधामसँग मनाइन्छ। यो पर्वमा अनिवार्य नयाँ लुगा लगाउने र मीठो–मसिनो खाने चलन छ। मांसाहार र मदिरा निषेधित पर्वको रुपमा गौरालाई लिइन्छ।
शुद्ध शरीर र पवित्र भावले भगवान शिव र पार्वतीसहित आ–आफ्ना इष्टकुल देवताको आराधना गर्ने पर्वको रुपमा गौराको पहिचान रहेको धनगढीका–४ का चेतराज जोशीले बताए। उनले गौरा–महेश्वरको पुजा गर्न महिलाहरू व्रत बस्ने गर्छन् भने पुरुषहरू चैत, डुस्को र धुमारी जस्ता नृत्य र गायनमा सहभागी हुने गरेको बताए।
ठाडोखेल गौराको मुख्य आकर्षण
अठवालीको दिनदेखि गाउँ ठाउँअनुसार चार–पाँच दिनसम्म ठागो खेल लाग्ने, चैत, धुमारी र डेउडा खेल्न महिलाभन्दा पुरुषहरुको सहभागीता बढी हुन्छ। यो पर्वमा महिकाहरूले गौरा (पार्वती) र महादेव (शिव) को पूजा गर्छन भने पुरुषहरूले देवगाथा र वीरगाथा गाउँछ्न्। यो देवगाथा र वीरगाथा गाउने र खेल्ने तरिकालाई नै ठाडोखेल भनिन्छ। ठाडोखेल गोलो घेरामा धेरै जनाले एकै श्वर र लयमा गाउने गर्छन्।
खेलको बिचमा धुमारी र डुस्को समेत खेलिन्छ। ढोलङ र दमाहा बजाएर ठाडोखेल खेलिन्छ। खेलमा लडाइका प्रशंङ्ग आउँदा दमाहा बजाएर धामीमा देउता बोलाइने र देउताले आशीर्वाद दिने परम्परा रहेको धर्मराज जोशीले बताए। उनले गौरा पर्वमा गौरा–महादेवको पूजासँगै आ–आफ्ना इष्टदेवहरूको समेत आराधना गरिने बताए। गौरा पुजनले व्यक्तिका मनोकामना पूरा हुनुका साथै जीवनमा आनन्द प्राप्त हुने जनविश्वास छ।
गौराको अठवालीको भोलिपल्टबाट महिलाहरूले अलग्गै डेउडा खेल्छन्। गौरामा शिवा–पार्वतीको विशेष पुजा आराधना गरिन्छ।सप्तमीको दिन खेतमा गएर धान, बलु, कुस, दुबो, साउँ, पाती, कुर्जो, तिल र अपामार्गसहित नौ प्रकारका बिरुवाहरुलाई गौराको रुपमा भित्र्याउने चलन छ। गौरामा शिव–पार्वतीको पूजन गर्दा कुलदेवता समेत खुशी हुने विश्वास गरिन्छ। गौरापछि मात्रै पितृ पक्षमा सोह्र श्राद्ध सुरू हुने र त्यसपछि नवदुर्गासहित अन्य देवीदेवताको पुजा गर्ने परम्परा रहेको छ।