सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा प्राकृतिक तालहरुबाट आम्दानी गर्न उपमहानगरबाट अध्ययन सुरु

२०८१ भदौ ८, १०:४० कमल सावद

धनगढीः धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा ८४ तालहरू रहेको तथ्याङ्क सङ्कलन गरेको थियो।

उपमहानगरपालिकाले गत आर्थिक वर्ष १३ वटा तालहरूको अतिक्रमण खाली समेत गराएको छ। उपमहानगर क्षेत्रभित्र ८४ वटा प्राकृतिक ताल फेला परेकोमा १३ वटा तालको अतिक्रमण खाली गरेर संरक्षण गरिएको छ। तालहरूको अतिक्रमण खाली गरेर उपमहानगरपालिकाले ती तालहरूको गहिराइ तथा डिल निर्माण गरेको छ।

अहिले ती तालहरूबाट आम्दानी गर्न अध्ययनको काम सुरु गरिएको छ। धनगढी उपमहानगरपालिकाका डिभिजनल इन्जिनियर दिजराज भट्टले तालहरूबाट आम्दानी गर्न व्यवस्थित गर्ने काम भएको बताए। उनले भने, ‘हामीले तालहरूको अध्ययन गरेका छौ। तालहरूलाई चरणबद्ध रूपमा विकास गर्दै लैजाने लक्ष्य छ। गत वर्ष १३ वटा तालहरूलाई संरक्षण गरेका छौ।

केही ठाउँमा अतिक्रमण हटाएका छौ। कति ठाउँमा बन्द भएका थिए। डिल निर्माण गरेका छौ।’ सामुदायिक वनभित्रका ताल भने संरक्षित छन। बजार क्षेत्रका अधिकांश ताल भने अतिक्रमणमा परेका छन्। गत आर्थिक वर्षमा १३ वटा तालको अतिक्रमण खाली गरेको उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा भने ती तालहरूबाट आम्दानी गर्न योजना तयार पारेको छ।

बजार क्षेत्रका तालहरूमा रेस्टुरेन्ट तयार गर्ने योजना बनाइएको छ। ग्रामीण क्षेत्रका तालहरूमा माछा पालन तथा डालेघाँस रोप्ने तयारी समेत गरिएको छ। उनले भने, ‘एक किसिमको खेस्रा तयार पारेका छौ। विभिन्न संघ/संस्थाको सहयोगमा विकास गर्दै लैजाने हो। कुन ताल केका लागि उपयुक्त छ? पूर्ण रूपमा तालहरूको पुनरभरण भनेका छौ। रिचार्ज, माछापालन, सहरी क्षेत्रका तालहरूमा आय–आर्जनका लागि रेस्टेरेन्ट र पार्कहरू निर्माण गर्ने छौ।’

पानीको पुनर्भरणसँग जङ्गलमा आगो लाग्दा तालको पानी प्रयोग गर्न सकिने तर्क उपमहानगरपालिकाको छ। तालहरू विभिन्न व्यक्ति तथा संघ/संस्थाहरूलाई ठेक्कामा दिने तयारी गरिएको छ। तालको संरक्षणसँगै आम्दानीको स्रोतसमेत बढाउने उपमहानगरको योजना छ। यसका लागि उपमहानगरपालिकाले बजेट समेत विनियोजन गरेको छ।

उपमहानगरपालिकाका डिभिजनल इन्जिनियर भट्टले व्यक्ति तथा सङ्स्थाहरूलाई ताल भाडामा दिने बताए। उनले भने, ‘आयआर्जनका लागि ठेक्का गर्ने छौ। ग्रामीण क्षेत्रका तालहरूमा डालेघाँस लगाउछौ। सहर र ग्रामीण क्षेत्रको हिसाबले विकास गर्ने छौ।’ प्राकृतिक तालहरूको संरक्षणले तापक्रममा समेत कमि आउने दाबी गरिएको छ। ताल संरक्षणबाट जमिन मुनीको पानीको स्रोतको समेत संरक्षण हुने बताइएको छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस