बिमा कम्पनीबाट समयमा दाबी भुक्तानी नपाउँदा धनगढीका व्यवसायी हैरान
धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–२ साल्ट ट्रेडिङ्कको सटरमा सञ्चालनमा रहेको पाथिभारा इन्पोरियममा २०८० माघ १९ गते आगो लाग्यो।
निरा प्रसाई सञ्चालक रहेको जुत्ताचप्पल पसलमा आगलागी भएको १९७ दिन भइसकेको छ। पाथिभारा इन्पोरियमका सञ्चालकले ६० लाखको बिमा गरेका थिए। बिमा भुक्तानीका लागि कागजपत्र कम्पनीमा बुझाइसक्दा पनि दाबी भुक्तानी पाउन समस्या भइरहेको छ। कम्पनीले ५ लाख, १० लाख र १२ लाख रुपैयाँ भुक्तानी दिने भन्दै मोलमोलाइ गर्दै आएको सञ्चालको आरोप छ।
पाथिभारा इन्पोरियमका सञ्चालदक नवराज धिमालले बिमाको भुक्तानी नपाएको गुनासो गरे। उनले भने, ‘मैले ६० लाखको बिमा गरेको हो। पातिभारा इन्पोरियममा ५० लाख रुपैयाँ ऋण छ। मेरो बिमा गरेको बिल, भौचर, कागजहरु सबै हुँदा हुँदै पनि, मलाई कहिले ५ लाख, कहिले १० लाख, कहिले कहिलै १५ लाख, कहिलै एक लाख थपिदिन्छौ त कहिले २ लाख थपिदिन्छौ भनेर मलाई ७/८ महिनादेखि झुलाउदै आएका छन।’
त्यस्तै धनगढी उपमहानगरपालिका–१ मुख्य बजारमा रहेको खाद्य संस्थानको भवनमा रहेको सारथी अस्पतालसहितका पसलहरुमा २०८० मंसिर १ गते राति विद्युत सर्ट भएर आगलागी हुँदा सारथी अस्पताल, भण्डारी सुज सेन्टर लगायत ८ वटा पसलमा क्षति पुगेको थियो। तर अस्पतालले भने बिमा गरेको थिएन। बिमा गरेका भण्डारी सुज सेन्टरसहितका व्यवसायीहरुले भने लामो लडाइपछि मात्र बिमाको भुक्तानी पाएका छन्।
व्यवासीहरुले आफ्नो व्यवसायको बिमा गर्दै आएपनि सहज रुपमा भुक्तानी दिन भने बिमा कम्पनीहरुले नै आनाकानी गर्दै आएको छन्। कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले पटक–पटक कम्पनीलाई बिमा भुक्तानीका लागि आग्रह गर्दा पनि आनाकानी गर्दै आएको बताए। उनले भने, ‘हामी धेरै पटक बिमा कम्पनीमा गयौ। उहाँहरुले भुक्तानी दिन मानिरहनुभएको छैन।’
व्यवसायको बिमा गर्दा पटक–पटक धाउने कम्पनीका कर्मचारीहरुले बिमा भुक्तानी दिन भने आनाकानी गर्दै आएका हुन्। उनीहरुले बिमा भुक्तानी लिने व्यापारीहरुसँग मोलमोलाइसमेत गर्दै आएको आरोप छ। तर, सानीमा जिआईसी इन्स्योरेन्स लिमिटेड, धनगढीका शाखा प्रमुख सुरज रावलले क्षतिको सर्भेमा बिमा गर्ने व्यवसायीहरुले चित्त नबुझाएकाले भुक्तानी रोकिएको बताए।
उनले भने, ‘हामीले सर्भे गर्न लगाएको हो। गौरव सिँहले रिपोटमा उहाँले चित्त बुझाउनुभएन। फेरि महेश वस्नेतलाई सर्भे गर्न लगायौ। महेश सरको रिपोर्टमा हुन्छ भनेपछि हामीले फाइल केन्द्र पठाउने हो। केन्द्रीय कार्यालयबाट भुक्तानी हुने हो।’ उनले बिमा प्राधिकरणबाट लाइसेन्स लिएका व्यक्तिले सर्भे गर्ने गरेको बताए।