सुदूर नेपाललाई विश्वसँग जोड्दै

जापानमा अभिभावकीय भूमिका निभाउदै धनगढीका दुई युवा

२०८१ साउन ३१, १०:२५ खबर संवाददाता

धनगढी: बैतडीको पाटन नगरपालिका–३ घर भई जापानमा मृत्यु भएका जनकप्रसाद अवस्थीका परिवारलाई आर्थिक सहयोग गरीएको छ ।

सुदूरपश्चिम म्यासेन्जर व्वाइज ग्रुपले आर्थिक सङ्कलन गरेर अवस्थीको परिवारलाई सहयोग गरेको हो। म्यासेन्जर व्वाइज ग्रुपका सदस्य कुलबहादुर रावल र किशोर सिंहले आर्थिक सहयोग अभियान सञ्चालन गरी सङ्कलन गरेको १ लाख ५० हजार ३३६ रुपैयाँ जनकका बुवाको खातामा जम्मा गरिएको रावलले बताएका छन्। आर्थिक सहयोग अभियानमा १ लाख ६६ हजार सङ्कलन भए पनि मृतकको बुवाको खातामा स्थानान्तरण गर्दा रेमिट्यान्सको दरअनुसार केही रकम काटिएको बताइएको छ। सो अभियानलाई एनआरएनए चिवा र सुदूरपश्चिम समाजले पनि सहयोग गरेको सुदूरपश्चिम म्यासेन्जर व्वाइज ग्रुवका अर्का सदस्य किसोर सिंहले बताए। पढाइको लागि करिब ३ महिनाअघि मात्रै जापान गएका पाटन नगरपालिका ३ का २१ वर्षीय जनकप्रसाद अवस्थीको पानीमा डुबेर निधन भएको थियो।

अध्ययनको सिलसिलामा जापानको नायोगामा बस्दै आएका अवस्थीको समुद्रमा नुहाउने क्रममा निधन भएको थियो। साथीहरूसँग नुहाउन समुद्री किनारमा गएका अवस्थीको त्यही डुबेर मृत्यु भएको हो । लाखौँ ऋण निकालेर अध्ययनसँगै रोजगारीको अवसरका लागि जापान पठाइएका जनकको परिवार छोराको निधनको खबरले विक्षिप्त बनेको छ।

सिंह र रावलले यसअघि पनि समस्यामा परेका व्यक्तिलाई सहयोग गर्न जापानमा आर्थिक सहयोग जुटाएको बताएका छन्।  जापानमा समस्या परेकालाई तीन पटक आर्थिक सहायता जुटाएको सिंहले बताए। रावल र सिंह धनगढी घर भएका र हाल जापान बस्दै आएका युवा हुन्।

कमेन्ट लोड गर्नुस